तपाईं पनि अपनाउने हो ‘अन्डर वेयर फिलोसफी’ ?

वि.सं. २०६६ मा काठमाडौँमा एउटा जघन्य हत्याकाण्ड भएको थियो, जसलाई हामी ‘ख्याति श्रेष्ठ हत्या काण्ड’को नामले सम्झने गर्छाैँ। जुन काण्डले शिक्षक विद्यार्थीबीचको पवित्र सम्बन्धको नाममा समेत कालो पोतेको थियो। घटनाअनुसार अभियुक्त वीरेन्द्र श्रेष्ठले आफ्नै एक पूर्वविद्यार्थीको सहयोगमा अर्की पूर्वविद्यार्थीको अपहरण र हत्या गरेर। उसको शव टुक्राटुक्रा पारेर काठमाडौँको विभिन्न स्थानमा फालेका थिए। यो घटनाको बारेमा स्मरण गर्दा जो कसैको मुटु छियाछिया हुन्छ भने आफ्नी एक मात्र सन्तानलाई यस्तो हुँदा ती अभिभावकको स्थिति कस्तो भयो होला ? यो केवल अनुमान मात्र लगाउन सकिन्छ, जुन अनुमान निकै दुखपूर्ण हुन्छ।

यहाँ यो आलेखमा त्यो हत्या काण्ड कसरी भयो भन्ने विषयमा विश्लेषण गर्ने कोसिस गर्दैछौँ। अभियुक्त वीरेन्द्रको आफ्नी पूर्वविद्यार्थी ख्याति र उनकी अभिभावकहरुलाई धेरै समयपछि अचानक भेट्छ। केही समयपछिको भलाकुसारीपछि ख्याति र उनकी अभिभावकले वीरेन्द्रलाई घरमा आउन अनुरोध गर्छन, जो सामान्य थियो। केही दिनपछि वीरेन्द्र ख्यातिको घरमा आउँछ, कुराकानीको बिचमा ख्यातिका अभिभावकहरुले आफ्नी छोरीले डाक्टर बन्ने इच्छा व्यक्त गरेको र डाक्टरीको पढाइमा कति जति खर्च लाग्छ भनेर सल्लाह माग्छन, यो पनि सामान्य नै हो।

त्यसपछि ख्यातिका अभिभावकहरुले आफूसँग करिब १ करोड ५० लाख रकम भएको र अब डाक्टरी पढाउन पैसाको समस्या नआउने कुरा गर्छन्, जो उनीहरुले नभनेको भए पनि हुन्थ्यो र यही एउटा कुरा गर्दा ख्यातिको अपहरण र हत्यामा गएर टुङ्गियो।

ख्यातिको अभिभावकहरुसँग त्यत्रो पैसा भएको थाहा भएपछि क्यासिनोमा जुवा खेल्ने लत लागेर ऋणमा डुबेको वीरेन्द्रले ख्यातिको अपहरण गरेर पैसा जम्मा पार्ने अपराधिक विचार गर्नु नै यो दुखद घटना को सुरुवात थियो। सायद ख्यातिका अभिभावकहरुले आफूसँग भएको पैसाको बारेमा वीरेन्द्रलाई केही नभनेको भए त्यो दुखद घटना हुन्थेन कि ? यो पंक्तिकारको निजी सोचाइ हो। सायद हुने कुरा टारेर टर्दैन भन्छन्, सायद त्यस्तै पनि हुन सक्थ्यो।

यो आलेखमा उक्त हत्या काण्डको बारेमा भन्दा पनि सरोकार नभएको कुरा, जसलाई पनि भन्नु हुँदैन भन्ने हो, यदि ख्यातिका अभिभावकहरुले आफूसँग भएको पैसाको बारेमा नभनेको भए यो घटना हुन्थेन तर उनीहरुले आफ्नी छोरीका पूर्वशिक्षक भएको कारण सम्मान गर्दै त्यो कुरा भनेका थिए, जो दुर्भाग्यवश उल्टो हुन गयो। हरेक अपराध हुनुभन्दा पहिले केही लक्षणहरु देखाउँछ र त्यो लक्षण देख्न सकियो भने यस्ता अपराधहरु हुनबाट रोक्न सकिन्छ भन्ने कथन छ तर सानोतिनो घटना देख्न नसक्दा र देखेर पनि बढी विश्वासको कारण यस्ता दुखद घटनाहरु बारम्बार दोहाेरी रहन्छन।

अमेरिकामा आफ्नो प्रेम र यौन जीवन (योर सेक्स एण्ड लभ लाइफ), कमाइ र सम्पत्ति (इन्कम एण्ड एसेट) र जीवनको लक्ष्य (योर नेक्स्ट मुभ) अत्यन्तै निकट र विश्वास गरेको मान्छेहरुलाई बाहेक अन्यलाई नभन्नु भन्छन तर दुर्भाग्य हाम्रो समाजमा भने यी तीन कुरा भएको भन्दा पनि बढी नुन मसला हालेर भन्ने चलन छ र यस्तै गर्दा अनावश्यक झन्झटमा पर्न पनि सकिन्छ र परेका पनि छन्।

यसैगरी आफ्नो गोप्य कुरा अपवादलाई छोडेर अरु कसैलाई नभन्नुलाई सामान्य बोलचालको भाषामा ‘अन्डर वेयर फिलोसफी’ भन्ने गरिन्छ, जस्तो भित्री वस्त्र राम्रो, सफा र उच्चगुणस्तरको लगाउनुपर्छ तर कस्तो लगाएको छ भनेर कसैलाई थाहा हुँदैन वा दिनु हुँदैन। आफ्नो व्यक्तिगत र सरोकार नभएको मान्छेहरुलाई आफ्नो र आफ्नो परिवारको बारेमा अनावश्यक कुराहरु गर्दै हिँड्नु धेरै अर्थमा खतराजन्य भएको कारणले यस्तो स्वभाव छ भने छिटोभन्दा छिटो परिवर्तन गर्नु राम्रो हुन्छ, जसको कारण बिनाकामको झन्झटमा फस्नु पर्दैन। आगे प्रबुद्ध पाठकहरुको बिचार।

@twitter#naviinr

प्रकाशित मिति: : 2023-06-17 19:55:00

प्रतिकृया दिनुहोस्