नीति तथा कार्यक्रम र बजेटकाे लागि सुझाव माग्दै पालिकाहरु 

BreaknLinks
BreaknLinks

जुम्लाका पालिकाहरुले आर्थिक वर्ष २०८०/८१ काे लागि ल्याउन लागेकाे नीति तथा कार्यक्रम र बजेटमा सुझाव मागिरहेका छन्। पालिकाहरुले सार्वजनिक स्थलमा खुला कार्यक्रम गरेर कस्ताे नीति तथा कार्यक्रम ल्याउने र कस्ता खालका याेजनालाई प्राथमिकता दिने भन्दै सुझाव मागेका हुन्।

सबैभन्दा पहिला जुम्लाको गुठीचौर गाउँपालिकाले पालिकाबासीसँग सुझाव मागेको हाे। यसपछि दिनहुँजसो फरकफरक पालिकाबाट सुझाव संकलनकाे काम भइरहेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि उल्लेख्य जन सहभागिता हाेस् भन्ने हेतुले सर्वदलीय तथा सर्वपक्षीय भेला गरी सुझाव संकलन गरिएकाे गुठीचाैर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।

'हामीले डेढ सय जना पालिकाबासीको उपस्थितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, टोल विकास समितिका पदाधिकारीहरु, स्थानीय नागरिकहरुलगायत सरोकारवालाहरुकाे सुझाव लिएका छाैं,' उनले भने, 'उहाँहरुले दिएका सुझावहरूलाई अक्षरस पालना गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनेछाैं।'

उक्त कार्यक्रममा गुठीचौर गाउँपालिलका स्थानीय रतनवीर नेपालीले गाउँपालिकाबाट अघिल्ला आर्थिक वर्षमा गरिएको कार्यक्रमहरुको समीक्षा गर्नुपर्ने सुझाव दिएका थिए। उनले सुझावकाे रुपमा भने, 'शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारका क्षेत्रमा गरिएको लगानी र त्यसको उपलब्धिको बारेमा समीक्षा गर्दा स्थानीय सरकार पारदर्शी भएकाे सन्देश जान्छ।'

त्यस्तै स्थानीय राज्य लक्ष्मी गिरीले गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि र सहकारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताइन्। 'महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार र नि:शुल्क बिमा गर्दा उनीहरु उत्प्रेरित हुनेछन्,' उनले भनिन्।

उपस्थित स्थानीयमध्ये अधिकांशले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई आफूले पढाएको विद्यालयमा नपढाइ निजी विद्यालयमा पढाउँदा आफैँमाथि विश्वास नरहेको सन्देश गएकाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले सकारात्मक सन्देश दिन सामुदायिक विद्यालयमा आफ्ना बच्चा पढाउनुपर्ने सुझाव दिए।

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नु पूर्व स्थानीय सरोकारवालासँग सुझाव माग्नु अत्यन्तै सकारात्मक कदम भएकाे स्थानीय युवा जगकृष्ण जैसीले बताए। उनले आफ्नाे सुझाव यसरी सुनाए, 'युवामैत्री र स्वरोजगारका कार्यक्रम ल्याउँदा बढ्दाे बेराेजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ।'

पालिकाकाे वडा नम्बर १ का जितेन्द्र लामाले गुठीचौरको वडा नम्बर १ र २ क्षेत्र दुर्गम र जटिल भूगोल भएकोले आर्थिक वर्ष २०८०/८१ मा जनसंख्याको आधारमा नभइ भूगोलको आधारमा बजेट विनियोजन हुनुपर्ने बताए।

त्यस्तै जुम्लाकाे तिला र पातारासी गाउँपालिकाले पनि आ. व २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटका लागि नागरिकका सुझाव लिएकाे छ। दुबै पालिकाले राजनीतिक दलका अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी, पूर्व वडाध्यक्ष र आम नागरिकबाट राय सुझाव लिइएकाे तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले बताइन्।

'असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको छ। त्यसैले सामाजिक तथा आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न अनुराेध गरेका हाैं।'

नीति, बजेट तथा कार्यक्रममा स्थानीयको आवश्यकता र दिगो विकासका आयोजना प्राथमिकतामा पर्नुपर्ने सुझाव आएकाे गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले बताए।

राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले बताए।

पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि अध्यक्ष पूर्णसिंह बोहोराको अध्यक्षतामा नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि राय, सुझाव सङ्कलन गरेकाे छ।

'हामीले नागरिककाे भावनालाई, उनीहरुकाे चाहना र आवश्यकतालाई ख्याल गरेर याेजना ल्याउनका लागि उनीहरुकै राय सल्लाह लिन उचित हुन्छ,' अध्यक्ष बाेहाेराले भने, 'सबै आवश्यकता आजकाे अहिल्यै पूरा नहाेलान् तर एक-एक गर्दै सामूहिक इच्छा, चाहनाहरु पूरा गर्न सकिन्छ।'

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलगायतका विषयमा सहभागीहरुले राय प्रस्तुत गरेकाे पातारासी गाउँपालिकाका सूचना अधिकारी दानबहादुर विष्टले जानकारी दिए।

पालिकाहरुले परिणाममुखी योजना तथा कार्यक्रमहरु ल्याउनुपर्ने युवाहरुकाे सुझाव छ। पालिकाहरुले पर्यटकीय क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रमा लगानी गर्ने र राजश्व संकलन गरी आम्दानी लिन सकिने विषयमा साेच्नुपर्ने स्थानीय केसी बहादुर भण्डारीले बताए।

गुठीचौर गाउँपालिका १ का अध्यक्ष अर्जुन कुमार महतराले हालसम्मको उपलब्धि पर्याप्त नभएको र आगामी वर्ष जनमुखी काममा ध्यान जाने बताए।

पालिकाहरुले नेपाल जस्ताे कृषि प्रधान देशमा आफ्नाे उत्पादकत्व पहिचान गरी विकास निर्माणका कार्यक्रम ल्याउँदा मात्रै आत्मनिर्भर हुन सकिने कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए।

'हाम्रा पालिकाहरुले हाम्राे उत्पादकत्वलाई बुझ्नैपर्छ। अन्यथा हाम्राे परनिर्भरता झन्झन् बढ्दै जानेछ,' उनले भने, 'स्याउ र ओखरलगायतका फलफूल हाम्राे आम्दानीकाे ठूलो स्राेत हाे। किसानहरुलाई उत्साहित हुने कार्यक्रम ल्याउँदा भविष्यमा अनिकाल आउने छैन।'

प्रकाशित मिति: : 2023-06-21 18:32:00

प्रतिकृया दिनुहोस्