भ्याली पब्लिकका प्रधानाध्यापकले स्कुलभित्रै गरे ‘रक्सी पार्टी’(भिडियाेसहित)

उमेश थापा

काठमाडौं

काठमाडाैँकाे बूढानीलकण्ठस्थित सुन्दरवस्ती, भङ्गालमा रहेकाे भ्याली पब्लिक उच्चमाध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयभित्रै ‘रक्सी पार्टी’ गरेकाे खुलासा भएकाे छ।

प्यावसन नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहेकाे अधिकारीले आफ्नाे परिवार र आफन्तकाे साथ रातिकाे समयमा मदिरा सेवान गर्दै नाचिरहेकाे भिडियाे बाहिरएकाे छ। उक्त दिन प्रधानाध्यापक अधिकारीका छाेरा साइरस अधिकारीकाे व्रतबन्ध थियाे। साेही अवसरमा विद्यालयकाे प्रशासनिक भवनमा आयाेजना गरिएकाे खानपान कार्यक्रममा अधिकारी परिवार र आफन्तहरु मदिरा सेवन गरेर लठ्ठिएकाे भिडियाे प्रधानाध्यापककी छाेरी स्वीकृति अधिकारीले सार्वजनिक गरेकी छिन्।

स्वीकृतिले सार्वजनिक भिडियाेमा प्रधानाध्यापक अधिकारी र एक पुरुष नाचिरहेकाे देखिन्छ भने परिवारका अन्य सदस्य रक्सीले लठ्ठिएकाे अवस्थमा बसिरहेकाे देखिन्छ।

‘विद्यालयजस्ताे संवेदनशील र सार्वजनिकस्थलमा यसरी किन ‘रक्सी पार्टी’ गरेकाे ?’ भनेर साेध्दा प्रधानाध्यापक अधिकारी कड्किए। उनले उक्त विद्यालय आफ्नाे निजी सम्पत्ती भएकाेले जे गरे पनि हुने भन्दै गैरजिम्मवार जवाफ दिए। ‘आफ्नाे निजी विद्यालय कम्पाउण्डमा छोराको व्रतबन्ध पार्टी दिँदा किन टाउकाे दुखेकाे ?,’ उनले उल्टै प्रतिप्रश्न गरे।

अमेरिकामा बस्दै आएका प्रधानाध्यापक अधिकारी केही समयअघि मात्रै नेपाल आएका थिए।

भ्याली पब्लिक स्कुलमा यसरी ‘रक्सी पार्टी’ भएकाे हाे पहिलाे पटक भने हाेइन। यसअघि पनि बेला-बेलामा यसरी नै विद्यालयमा शिक्षकहरुले मदिरा सेवन गर्ने, गीत बजाएर नाच्ने, उश्रृङ्खल गतिविधि गर्ने गरेकाे विद्यालयकी एक छात्राले भनिन्। नाम नखुलाउने सर्तमा ती छात्राले भनिन्,‘हामीलाई राति एउटा कक्षामा पढ्न राखेर सरहरु अर्को बिलडिङमा रक्सी खानुहुन्थ्याे।’

यता प्यावसनका अध्यक्ष डिके ढुङ्गानाले यसरी विद्यालयमा मदिरा सेवन गर्न नपाइने बताए। उनले प्रधानाध्यापक अधिकारीलाई स्पष्टीकरण साेध्ने र गल्ती भएकाे पाइएमा कारबाही गर्ने बताए। ‘स्कुल कम्पाउण्डमा रक्सी लैजान अनुमति छैन, स्कुलमा रक्सी लैजान वा खाना मिल्ने भनेर प्यावसनकाे विधानमा लेखिएकाे छैन,’ उनले भने।

नेपालकाे कानुनले सार्वजनिकस्थलमा मदिरा सेवन गर्न बन्देज गरेकाे छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-26 14:07:00

प्रतिकृया दिनुहोस्