प्रचण्डकाे ‘एक्सन’पछि भिआईपीले भरिँदै जेल !

कमल विक

काठमाडौं
BreaknLinks
BreaknLinks

आज (शुक्रबार) राष्ट्रिय धान दिवसका दिन अर्थात् दही चिउरा खाने दिन। देशका भिआईपीहरु खेतमा पुगेर किसानसँग एक दिन भए पनि रमाउने प्रयत्न गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्मले खेतमा पुगेर दही चिउरा खाँदै रम्ने प्रयत्न गरे।

एक भिआईपीहरु खेतमा कृषकसँग रम्दै गर्दा अर्का भिआईपीहरुको भने निद्रा हराम भएको छ। आज बिहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको शुभभित्रको अशुभ समाचार फैलियो।

ललिता निवास प्रकरणमा बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। बिहानै एक भिआईपीको निद्रा हराम हुने गरी समाचार बाहिरीपछि शुक्रबार धान दिवसको रौनकभित्र थप भिआईपीहरु सशंकित छन्।

ललिता निवास जग्गा प्रकरणमा यसै पनि १५० जना बढीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जसमध्ये मंगलबार असार १२ गते देशभर भाटभटेनी सुपरमार्केटका नाममा साम्राज्य विस्तार गरेका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना पक्राउ परे।

सोही दिन पक्राउ पर्नेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की हुन्। उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरी भिआईपीहरु मात्र होइन, ललिता निवास जग्गा प्रकरणमा भिभिआईपी (देशका ठुला ओहोदाका व्यक्ति) हरुलाई पक्राउ गर्ने योजनामा छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रण्चड’ले सरकार सम्हालेदेखि ठुला भनिनेहरुको निद्रा हराम हुन थालिसकेको थियो।

गएको पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएको ४ महिनापछि ठुलो भ्रष्टाचार काण्डमा हात हालेका प्रचण्डले पछिल्लो समय थप भ्रष्टाचारका फाइल खोल्ने बताउँदै आएका छन्। त्यसलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख बसन्त कुँवरले साथ दिएका छन्।

चैतदेखि भुटानी शरणार्थी प्रकरणको फाइल खुलेपछि एमाले नेता पूर्वप्रधानन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित अहिले १६ जना जेलमा पुगेका छन्।

भुटानी शरणार्थी प्रकरणमा अझै ठुला नेताहरु तानिन सक्ने आँकल छ। यो प्रकणरमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक, गजेन्द्र बुढाथोकीसहित दर्जन बढी फरार रहेका छन्। उनीहरु जतिबेला पनि पक्राउ पर्ने छन्।

शुक्रबार अर्का भिआईपी पूर्वसांसद तथा पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परे। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी किटानी जाहेरी दर्ता भएपछि काठमाडौंबाट प्रहरीले पक्राउ गर्‍यो।

उनीविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर, नेताहरुसँग राम्रो सम्बन्ध भएकै कारण उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।

आजै शुक्रबार विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ। अदालतले खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाएको छ भने १८ करोड रुपैयाँ विगो तथा जरिवाना भराउने आदेश गरेको छ।

यसरी एकपछि अर्को मुद्धाको फाइल खोलेपछि प्रचण्ड नेतृत्व सरकारको चर्चा छ। प्रचण्ड नेतृत्वको सरकारले कति काम गर्न सक्छ भन्ने हेर्न अझै बाँकी रहेको भए पनि अहिलेलाई सरकारको कामको प्रशंसा भइरहेको छ।

एक सामाजिक प्रयोगकर्ता सागर मरासिनिले प्रचण्डको प्रशंसा गर्दै लेखेका छन्, ‘हुन त म एमाले समर्थक हो तर, अहिले चाहिँ माओवादीका प्रचण्ड र नारायणकाजीले राम्रो काम गरेको महसुस भा छ।’

एकपछि अर्को मुद्धाको फाइल खुल्दै गएपछि जेल भिआइपीहरुले भरिन थालेको भन्दै कपितयले व्यङ्ग्य गर्न थालेका छन्। नवीन श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘सरकार तिमी यही रफ्तारमा काम गर्ने हो भने पहिला पर्याप्त जेल बनाऊ, अनि मात्रै भ्रष्टाचारका फाइलहरु खोल। नत्र भने केही दिनमै जेलको अभाव भएर कैदी राख्ने ठाँउ नहोला नि ?’

प्रकाशित मिति: : 2023-06-30 20:50:00

प्रतिकृया दिनुहोस्