‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’मा दुवै जनाले उक्त अवार्ड जितेका हुन्। दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन्। गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दीपेन्द्र गत वर्ष टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए। महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गत वर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पियनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्।
दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको तर्फबाट ह्याटिकसहित पाँच गोल गर्ने खेलाडी वर्षाले गत वर्ष नेपाली यु १५ टोलीले साफ च्याम्पियनसीपमा बङ्गलादेशविरुद्धको जित हात पार्दा निर्णायक गोल गरेकी थिइन्। यस्तै उनी एफसी छनोटका सबै खेल खेलेर गोल गर्ने नेपाली खेलाडीसमेत हुन् । सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते। धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गत वर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पु-याउन उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारे। टमटाले गत वर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पु-याएका थिए।
उनी आठ वर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन्। उनले नेपाली महिला क्रिकेट टोलीलाई कतारविरुद्धको सिरिज जिताएका पनि थिए। उनले कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतमलाई पछि पारे। सुदूरपश्चिम आइकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए। शाहीले नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्ण पदक दिलाएका थिए। उनले जियारत सेख (फुटबल) र आनन्द कामी (कराँते)लाई पछि पारेका हुन्। सुदूरपश्चिम आइकन महिला फुटबलकी दीपा रोकाया घोषित भइन्। दीपाको कप्तानीमा नेपालले गत वर्ष पहिलो पटक यु १५ साफ च्याम्पियनसीपको उपाधि जितेको थियो।
उनले कविता कुँवर (क्रिकेट) र मनिषा सिंह (कुस्ती)लाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन्। भबिलबलका प्रशिक्षक सहदेव विष्टलाई ‘लाइफ टाइम एचिभमेन्ट’ प्रदान गरियो। बैतडीमा जन्मिएका विष्ट तत्कालीन समयमा नेपाली राष्ट्रिय भलिबल टिमको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उनी एशियाली खेलकुदमा सुदूरपश्चिमबाट सहभागिता जनाउने एक्ला खेलाडी हुन्। विष्ट सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदका लागि छनोट भएका थिए। नेपाली भलिबल टिमले त्यसयता एशियन गेमको अनुभव लिन नपाएको बताइएको छ । कुस्तीका राजेन्द्र चन्द कराँतेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो।
कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन काँस्य पदक जितेको थियो।कैलालीमा कपाल काट्ने (सैलुन व्यवसाय) समेत गरिरहेका कराँतेका कामीले २०७९मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल भएका थिए। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। मञ्चले बर्सेनि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ।