भिटोफले बेलकोटगढीमा मनायाे रोपाइँ महोत्सव (तस्बिरहरु)

यस वर्षको असार १५ काे अवसरमा नुवाकाेटकाे बेलकाेटगढीमा ‘धान दिवस तथा रोपाइँ महोत्सव- २०८०’ धुमधामले मनाइएकाे छ। शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)को उपस्थतिमा स्थानीय तथा पर्यटनकर्मीहरुको टोलीले बेलकोटगढी फाँटमा धान दिवस मनाएका हुन्।

नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ। यस दिन किसानहरुले महत्वपूर्ण पर्वको लामो समयदेखि मनाउँदै आएका छन्। डेढ दशक वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको हो।

नेपालको इतिहासमा धान मुख्य खाद्य वाली रहेको र सभ्यता र संस्कृतिसँग जोडिएको साथैसाथै जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ लाई किसानहरुले महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ।

‘नेपाली किसानहरु कर्मप्रति विश्वास गर्ने मिहेनतले सुन फलाउँछन। त्यसैको प्रतिविम्बको रुपमा हामीले आजको दिन विशेष रुपमा मनाउँदै आएको छ,’ राज्यमन्त्री सिर्पालीले भनिन, ‘राज्यले नीति निर्माण बनाए पनि कार्यन्वयनमा थुप्रै समस्या रहेकोको किसानहरुले पर्याप्त लाभ लिन सकिरहेको छैन।’ उनले नेपाल कृषिप्रधान देश भए पनि कृषिमा अझै आत्मनिर्भर हुन नसकेको औल्याइन।

कृषिलाई आधुनिकतातर्फ लग्दै पर्यटनसँग जोडेर आन्तरिक तथा वाह्य पर्यटकलाई पर्वमा सहभागी गराउनसके पर्यटनबाट आम्दानी सँग-सँगै भावी पुस्तालाई कृषिको महत्व बुझाउन मद्दत गर्ने उनको भनाइ छ।

महाेत्सवमा बेलकाेटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले ‘समृद्व बेलकोटगढीको आधार : कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनसहितको पूर्वाधार’ भन्ने नाराअन्तर्गत पर्यटन सम्वद्ध संघ संस्था र पर्यटन व्यवासायी मिलेर धान दिवस तथा रोपाइँ महोत्सव गरिएको बताए। ‘आगामी दिनमा हामी कृषि पर्यटनलाई थप जोड दिँदै लैजानेछाैँ,’ उनले भने।

त्यस्तै गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल)का अध्यक्ष गोपाल थापाले परम्परादेखि जीविकापालन गर्ने पेसालाई धान दिवसको मनाउन पाएकाेमा खुसी व्यक्त गरे। ‘यस पर्वलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा व्यापक रुपमा प्रचारप्रसार गर्नसके देशभित्र र बाहिरका पर्यटकहरुको ओइरो लाग्नेछ,’ उनले भने।

त्यस्तै अमेरिकी नागरिक लेखक तथा सामाजिक अभियान्ता हानाले नेपाल आएर पहिलो पटक रोपाइँमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन्। ‘यो मेरो पहिलो राेपाइँ हो, मैले नेपालमा आएर यसरी नेपालीहरुसँग रमाउँदा पाउँदा खुसी लाग्यो। मैले यो रमाइलो पल उता (अमेरिका)मा गएर सबैलाई सुनाउनेछु,’ उनले भनिन्।

गाउँ पर्यटन प्रवर्द्धन मञ्चले आयाेजना महाेत्सवमा काठमाडाैँबाट नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ (टान), नाटाका प्रतिनिधिलगायत पर्यटन व्यवासायी टोलीलाई नुवाकोटको बेलकोटगढी- १२ स्थित बासुकी फाँटमा पुर्‍याएर स्थानीय किसानहरुसँग धान दिवस मनाए।

भिटोफ-नेपालले वर्षेनि विभिन्न गाउँमा पुगेर ग्रामिण पर्यटनको खोजबिन र प्रवर्द्धन गर्दै आएको छ। गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम गरिएको हो।

प्रकाशित मिति: : 2023-07-01 11:36:00

प्रतिकृया दिनुहोस्