एनआरएनए यूएईको नेतृत्व मेरो हुनेछ: पासाङ शेर्पा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईका वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताएका छन्।

एनसीसी यूएईको आगामी निर्वाचनबारे दुबई भम्रणमा रहेका नेपाली पत्रकारहरूसँग शेर्पाले भने, ‘रोलक्रमले पनि पालो मेरो हो। नेतृत्व हाँक्ने तयारीसहित अघि बढेको छु।’ एनसीसी यूएईलाई अझ उचाईमा पुर्याउन आफ्नो योगदान महत्वपूर्ण हुने दावी शेर्पाको छ।

‘एनसीसी यूएईमा विभिन्न पदमा रहेर काम गरेँ। यो अवधिमा विभिन्न जिम्मेवारी सफलतापूर्वक बहन गर्दै अहिले वरिष्ठ उपाध्यक्ष छु’, शेर्पाले भने, ‘मलाई धेरै साथीहरूले तपाईं नेतृत्वमा आउनुपर्छ भनेर हौसला दिइरहनुभएको छ। फेरि वरिष्ठ उपाध्यक्ष भइसकेको हुनाले अरु विकल्प पनि छैनन्। त्यसैले म अध्यक्षको स्वभाविक उम्मेदवार हुँ।’

कुराकानीकै क्रममा उनले कोभिड महामारीमा यूएईको नेपाली समुदायमा आफूले खेलेको भूमिकाको पनि स्मरण गरे। ‘मैले आफ्नो व्यक्तिगत फाइदा नहेरी यूएईका नेपालीलाई सहयोग गर्दै आएको छु। कोभिड महामारीमा ज्यानकै माया मारेर १५५ दिनसम्म निरन्तर खटेको थिएँ,’ शेर्पा सम्झिन्छन्।

उनले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा यूएईका सबै सामाजिक संघसंस्थासँग सहकार्य गर्दै नेपाली समुदायलाई एक सुत्रमा बाँध्ने दाबी गरे। ‘यूएईको नेपाली समुदायमा मेरो अनुहार नौलो होइन। सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहेकाले यो गर्नलाई संस्थामा मभन्दा अर्को अनुभवी व्यक्ति छैन जस्तो लाग्छ,’ उनले भने।

उनले आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको बताए। ‘मलाई सबैको साथ र सहयोग छ। सबैको साझा उम्मेदवार हुँ।’

एनसीसी यूएईको नेतृत्वमा शेर्पासँगै विकास शाहीको समेत चर्चा छ। शाही पनि वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्।

प्रकाशित मिति: : 2023-07-08 13:50:00

प्रतिकृया दिनुहोस्