घाटमा चिप्लिएकी तोसिमा

कमल विक

काठमाडौं
तस्बिर : सुनाैलाे नेपालकाे भिडियाेबाट
तस्बिर : सुनाैलाे नेपालकाे भिडियाेबाट

पूर्वसञ्चारकर्मी रवि लामिछानेले हाँकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै सांसदहरू नेपाली राजनीतिका नयाँ अनुहार हुन्। त्यसैले उनीहरूले हरेक काममा ‘नयाँ’ गर्न खोज्छन्, जसबाट आममानिसलाई तत्काल आफूतिर तान्न सकियोस्।

त्यस्तो त रास्वपालाई एजेण्डा, विचार र सिद्धान्तविहीन पार्टी हो, जो अरुको आलोचना र गाली गरेर नै उदाएको हो भनेर पनि आलोचना भइरहेकाे छन्। पार्टीका ती आफ्नै निजी कुरा हुन्।

रास्वपाका सांसदहरू परम्परागत पार्टी र ती पार्टीका नेताहरूको चर्को आलोचना गरेर आफूलाई राजनीतिमा उभ्याइरहेका छन्। तर, यस्तै काममा पनि चाहिनेभन्दा बढी गर्न खोज्दा रास्वपाका सांसदहरू बेला–बेलामा चुकिरहेका छन्। विवादमा तानिइरहेका छन्।

रास्वपाका सांसदहरूले आफूहरूलाई अरुभन्दा भिन्न देखाउन खोज्दा चुकेका र झुक्नु परेका धेरै उदाहरणहरू छन्, संसदमा ‘विदुषी’ शब्दलाई ‘विदेशी’ सुन्नु, सिट खाली हुँदा हुँदै डण्डी समाएर कहिँकतै उभिनु, एउटै कुराको उद्घाटनमा दुईटा रिवन काट्नु, आत्मदाहको प्रयासपछि आगोले जलेर छट्पटाइरहेका प्रेमप्रसाद आचार्यसँग अस्पतालमै सेल्फी खिच्नु, भाग्नावशेष घरको बार्दलीमा बसेर हात हल्लाउँदै रमाउनु आदि।

आलोचनाको चेतले फुर्किन थालेको नेपाली समाजका लागि रास्वपा नेता अनि सांसदका यी हर्कतहरूले झन मसला थपेका छन्। सांसद तोसिमा कार्की फेरि एकपटक त्यही झुण्ड अर्को आक्रमणमा परेकी छन्।

बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगीनी सीता दाहाल (पौडेल)को अन्त्येष्टिको क्रममा आर्यघाट पुगेकी तोसिमाले दिएको अभिव्यक्ति विवादमा छ।

‘प्रचण्डपत्नीको एकखालको प्रशंसा गर्नुभयो। जस्तै प्रचण्ड पनि श्रीमतीका लागि कतिसम्म चाहिँ लागिपरे भन्ने एउटा उदाहरण छ। जस्तो उहाँले श्रीमतीको उपचारको लागि आफ्नो समय त्याग गरिरहनुभयो, त्यसलाई चाहिँ कसरी लिनुहुन्छ ?’

सञ्चारकर्मीले सोधेको प्रस्तुत प्रश्नमा तोसिमाको जवाफ छ :

हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ। त्यो परिवारलाई संरक्षण गर्नुपर्ने दायित्व हुन्छ। त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीको लागि केही गर्न सक्नुभएन। आफ्नी श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्नुहोला त ? भन्ने प्रश्न आउँछ। त्यो करणले मैले ब्यालेन्सकै तरिकाले उहाँले राख्नुभएको भन्ने बुझ्छु।

यही अभिव्यक्तिको कारण तोसिमा सामाजिक सञ्जालमा आलोचनाको पत्र बनेकी छन्। उनको यो अभिव्यक्तिलाई मानिसहरूले अनेकौँ तर्क गरेका छन्। संवेदनशील अवस्थामा बदलाको भावमा उपसस्थित भएको, केटाकेटीपन देखाएको, चाहिनेभन्दा बढी जान्ने बन्ने खोजेकोजस्ता टिप्पणी उनको अभिव्यक्तिमाथि गरिएको छ।

स्थिति सामान्य थिएन। साधारण अवस्थामा उनले त्यो टिप्पणी गरेकी थिइनन्। धेरै मान्छे घाटमा थिए।

जल्न लागेको शव कुरिरहेका।

भावना र विचार आ-आफ्नै ठाउँमा होलान्, तर त्यो घाट थियो। घाटमा तोसिमा पनि थिइन्, मलामी बनेर।

घाट आफैंमा भावशून्य हुन्छ।

तोसिमाले उक्त अभिव्यक्ति दिइरहँदा आर्यघाट अरु दिनभन्दा अझ धेरै भावविह्वल थियो। आफ्नी श्रीमती गुमाएका प्रचण्ड सोचमग्न थिए। प्रचण्ड परिवारका सदस्यहरूको आँखाबाट आँसु झरिरहेको थियो। बुहारी बिना मगर डाँकै छोडेर रोइरहेकी थिइन्। सीता दाहाललाई ‘क्रान्ति आमा’ भन्नेहरूले चितमाथि जलिरहेको शव गरुङ्गो मन बनाएर नियाली रहेको थिए। सधैं प्रचण्डलाई आलोचना गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायत शोकमग्ग्न अवस्थाम टुप्लुक्क बसिरहेको थिए।

त्यही निरश वातावरणमा उक्त अभिव्यक्ति दिइरहेकी थिइन्, तोसिमाले। एक दर्जन बढी ‘युट्युबर’हरूले घेरिरहेको माहोलमा तोसिमाले जुन अभिव्यक्ति दिएकी थिइन्, त्यसमा उनको आशय र नियत गलत थिएन, सायद। तर, घाटको त्यो माहोलमा उनी चिप्लिइन्। र त, उनी आलोचनाकी पत्र बनिन्। उनले सीताको शव अगाडि आफूलाई सामाजिक अभियान्त भन्न रुचाउने इन्द्रेणी दोहारीका सञ्चालक कृष्ण कँडेलले देखाएको नाटकलाई पनि जितिन्।

सँग-सँगै सामाजिक सञ्जालमा अर्जुन पराजुलीको कविता पनि ‘भाइरल’ भइरहेको छ-

मलामी जाने भनेको
मलम लगाउन जाने हो महोदय,
बदला लिन जाने होइन !
घाटमा गएर पनि बदला के लिनु
भोलि आफू पनि जानू त्यहीँ छ !

प्रकाशित मिति: : 2023-07-13 11:16:00

प्रतिकृया दिनुहोस्