बालेन र बञ्चरेडाँडाको ‘फोहोर’ साइनो

कमल विक

काठमाडौं
BreaknLinks
BreaknLinks

काठमाडौँ महानगरमा ‘मेयर’ भएको प्रमाणपत्र लिन नपाउँदै बालेन्द्र साह (बालेन) सिसडोलमा पुगेर भनेका थिए- ‘यहाँका मान्छे स्वच्छ वातावारणमा बाँच्न पाउने अधिकारी पूरा नभएसम्म अरू केही गर्दिनँ।’

यता उनकै पक्षमा अन्तिम नतिजा घोषणा हुँदै थियो, बालेन फोहोरको त्यो थुप्रामाथि पुगिसकेका थिए।

बालेनलाई थाहा थियो- काठमाडौँको राजनीति होस् चाहे जुनसुकै नीति सब यी आखिर फोहोरकै थुप्रो छ।

केही दिनसम्म केही भएन। बालेन काठमाडौँ महानगरको मेयर बनेको १८औं दिनमा त्यहाँका स्थानीयले काठमाडौँको फोहोर बोकेका ट्रकहरू रोकिदिए।

फोहोरको त्यो गन्धसँगै आन्दोलन पनि सिंहदरबार छिर्‍यो। ‘सहमति’ गर्दा गर्दै बालेनले त्यसमा ‘राजनीति घुसेको’ प्रस्टै पारे। फेसबुकमा लेखे। केही दिनमा सहमति भयो। फेरि उस्तै वाचापत्रहरू साटासाट भए।

सिसडोल-बञ्चरेडाँडा र सरकार(काठमाडौँ) महानगरबीच ‘सहमति’, आन्दोलन र फेरि सहमति नयाँ होइनन्।

चुनावको बेला सामाजिक सञ्जालदेखि सडकसम्म पुगेर बालेनले भनेको थिए, ‘काठमाडौँको फोहोरमा हुने राजनीति सदाको लागि अन्त्य गर्छु।’

त्यही कुरा पत्याएर एक वर्षसम्म धैर्य गरेर बसेका बञ्चरेडाँडाबासी बालेनको मौनताभित्र प्रकट भएको उदासिनाता आक्रान्त भएर साउन १ गते विस्फोट भए।

बरु नुवाकोटको ककनी गाउँपालिका– १ र धादिङको धुनिबेँसी गाउँपालिका– १ मा पर्ने बञ्चरेडाँडाका स्थानीय यसै साता फेरि फोहोरका ट्रकहरू रोके।

बालेनले पदभार ग्रहण गरेको ९ दिनपछि आफूहरूलाई साक्षी राखेर गरेका वाचा बिर्सिएको बञ्चरेडाँडाबासीको ठहर छ। ‘फोहोरको गन्धले बसिटिक्नु छैन, फोहोरका झिङ्गा भान्छामा छिर्छन्। स्वास्थ्यावस्थाको त कुरै नगरौँ, क्यान्सरको कारण २५ जनाको ज्यान गयो। बाँकी सयौँ क्यान्सर रोग बोक्न बाध्य छन्’, ककनी गाउँपालिका– १ का वडा अध्यक्ष पदम बलामीले भने।

बालेन साह उनै व्यक्ति हुन्, जो काठमाडौँजस्तो राजनीतिको ‘इपिसेन्टर’मा नेपाली राजनीतिमा आफूलाई ‘नाइके’ भन्दै हिँड्नेहरुलाई नमिठोसँग पराजित गरेर देशको राजधानी रहेको महानगरको मेयर बनेका थिए।

काठमाडौँको फोहोरमा गरिने राजनीति सदाको लागि अन्त्य गर्ने आश्वासन दिएका बालेनले आफ्नो राजनीति पनि फोहोरकै मुद्दाबाट सुरु गरेका थिए। काठमाडौँको मुख्य समस्या मानिएको फोहोर व्यवस्थापन सहज बनाउने वाचा गरेर नै उनले आफूलाई मेयरको कुर्सीमा आशन गराएका हुन्।

चुनावी प्रचारका क्रममा उनले प्रत्येक पाइला–पाइलामा भन्दै हिँड्थे, काठमाडौँको फोहोर व्यवस्थापनमा देखिएको समस्या दीर्घकालिन रुपमै समाधान गर्छु।

त्यतिबेला बालेनले देखाएका सपनाहरु थिए, काठमाडौँलाई फोहोर र धुलोरहीत बनाउने, काठमाडौँबासीको चुलोबाटै फोहोरको बर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने र काठमाडौँबासीले फ्याँकेको फोहोरबाट आक्रान्त बञ्चरेडाँडाबासीको जीवन सहज बनाउने।

त्यहीअनुसार अगाडि बढेका बालेन काठमाडौँमा कडा रुपमा प्रस्तुत भए। कतिसम्म भने बालेनले देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको समेत फोहोर उठाएनन्।

तर, देशकै सर्वोत्कृष्ट मेयरको रुपमा आफूलाई उभ्याउन खोज्ने बालेन बञ्चरेडाँडाबासीको अगाडि लाचार बनेका छन्। उनकै लाचारिका कारण बञ्चरेडाँडाबासी थप समस्यामा परेका छन्।

फोहोरबाट निस्किएको दुर्गन्ध र चिलेटको कारण बञ्चरेडाँडाका स्थानीयको दैनिकी सहिनसक्नुछ। बञ्चरेडाँडाबासीले आफूहरुलाई फोहोरबाट मुक्त गराउन सरकारसमक्ष बिन्ती बिसाएको एक दशक बितिसक्यो तर उनीहरुको दुःख कागजी सम्झौतामै सिमित भए। ‘समस्या समाधानको त कुरा छाडौँ बरु उल्टै सरकारले हामीमाथि विभिन्न लाञ्छना लगाउँछ, बल प्रयोग गर्छ, प्रहरीका लाठी हाम्रा टाउकामाथि फन्काइन्छ’, वडाध्यक्ष बलामीले भने।

एक दशकको अवधिमा बञ्चरेडाँडाबासीले अनेकौँ पटक फोहोर बिर्सजनमा अवरोध पुर्‍याए। त्यही अनुपतमा बञ्चरेडाँडबासी र सरकारबाची झडप र विवाद उत्पन्न भए। अनि सम्झौताको नाममा बञ्चरेडाँडाबासीलाई फकाएर काठमाडौँले फोहोर फ्याँकी रह्यो।

फेरि पनि बालेनले उही नियति दोहोर्‍याएका छन्।

विजयीको टीका र माला नउतार्दै मेयर बालेनले बञ्चरेडाँडावासीका नाममा गरेका वाचा अलपत्र परेका छन्।

बालेनले काठमाडौँको नेतृत्व सम्हालेको एकसाता नबित्दै गत वर्षको जेठ २६ गते काठमाडौँ महानगर तथा ककनी गाउँपालिका र धुनिबेँसी नगरपालिकाबीच १८ बुँदे सहमति भएको थियो। जसअनुसार काठमाडौँ महानगरपालिकाले ककनी–धुनिबेँसीबासीका सर्त पूरा गर्ने र ककनी र धुनिबेँसीले बञ्चरेडाँडामा फोहोर बिर्सजन गर्न अवरोध नगर्ने सम्झौता भयो थियो।

तर, ती १८ बुँदे सम्झौता कार्यन्वयन गर्न काठमाडौँ महानगरपालिका उदासिन देखिएको धादिङको धुनिबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङले बताए। तामाङ उक्त १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्ने सात जनामध्ये एक हुन्।

‘१८ बुँदे सहमति कार्यन्वयनमा महानगर गम्भीर देखिएन्’, वडाध्यक्ष तामाङले भने, ‘महानगरको उदासिनताका कारण फेरि विवाद उत्पन्न हुने देखियो।’

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् महानगरभित्र ‘स्वच्छ भान्छा’ कार्यक्रम ल्याएको काठमाडौँले आफ्नो भान्छामा फोहोरबाट भन्किएका झिङ्गा पस्दासमेत वास्ता नगरेको भन्दै बञ्चरेडाँडाबासीले साउन १ गतेदेखि ५ गतेसम्म फोहोर बाकेर जाँदै गरेको टिपर बाटैमा रोके। महानगरले १८ बुँदे सहमति कार्यन्वयन नगरेकै कारण फोहोर बिर्सनमा पुन: अवरोध गरेको वडाध्यक्ष बलामीले बताए।

काठमाडौँ महानगरपालिकाले रातको समयमा फोहोर बिर्सजन गर्ने, त्यसको लागि फोहोर बोकेर टिपर हिँड्ने बाटोमा तीन महिनाभित्र सडक बत्ती जडान गर्ने, दुर्गन्ध नआउने गरी फोहोरकाे व्यवस्थापन गर्ने, फोहोरबाट निस्किएको लिचेट खोलामा नमिसिने गरी वैज्ञानिक व्यवस्था गर्ने, फोहोरबाट प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य बीमा गर्ने, प्रभावित क्षेत्रको जग्गा अधिग्रहरण र मुआब्जाको लागि सरकारलाई पहल गर्ने, क्षति पुगेका घर तथा टहरालाई तीन महिनाभित्र क्षतिपूर्ति गर्नेलगायत विषय १८ बुँदे सहमतिपत्रमा उल्लेख छन्।

तर, तीमध्ये कुनै पनि बुँदा कार्यन्वयन नगरेर काठमाडौँ महानगरपालिकाले निर्दयीपन देखाएको वडाध्यक्ष बलामी बताउन्। ‘महानगर निर्दयी बन्यो। हामीलाई उसले मान्छे हुन पनि भनेन्। अहिलेसम्म १८ बुँदे सहमतिका कुनै पनि बुँदा कार्यन्वयन भएको छैन्’, बलामीले भने।

यद्यपि, दुवै वडाध्यक्षकाअनुसार प्रभावित क्षेत्रमा सबैको स्वास्थ्य बीमा भने भइसकेको छ।

सहमति कार्यन्वयनको लागि गत वर्षको साउनको दुवै पक्षको बैठक बसेको थियो तर बैठक निष्कर्षमा नपुग्दै टुङ्गियाे। त्यसयता सहमति कार्यन्वयनको तदारुप्ता र पहल हुन सकेको थिएन्।

अब पनि सहमति कार्यन्वयन नभए अदालत जाने वडाध्यक्ष बलामीले चेतावनी दिए। ‘हामी पनि मान्छे हो। हामी पनि स्वच्छ स्थानमा बस्न पाउनुपर्छ। काठमाडौँ महानगरले हामीलाई ढाट्यो। अब हामी चुप बस्न सक्दैनौँ। छिट्टै अदालत जान्छौँ’, उनले चेतावनी दिए।

तर, काठमाडौँ महानगरले भने सहमतिका ९० प्रतिशत काम पूरा भएको बताएको छ। ‘फोहोरजस्तो विषय भएकोले दीर्घकालीन समस्या समाधान हुनेगरी काम हुन नसकेपनि हामीले सहमति भएका ९० प्रतिशत काम पूरा गरेका छौँ’, काठमाडौँ महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने।

सहमतिअनुसार रातिमा फोहोर बोक्न भने नसकेको उनले स्वीकारे।

उनले जग्गाको अधिग्रहरण र मुआब्जा दिन पनि नसक्ने बताए। ‘हामी आज पनि यही विषयमा छलफल गर्न प्रधानमन्त्रीको कार्यालय गएका थियौँ। समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी काम भइरहेकोले अल्पकालिन विषयहरु ओझेलमा परेका होला नत्र त्यस्तो ठुलो समस्या छैन’, श्रेष्ठले भने।

प्रकाशित मिति: : 2023-07-26 21:55:00

प्रतिकृया दिनुहोस्