कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई उत्कृष्ट एवं नमूना अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा आज आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले कृषि अनुसन्धान तथा विकासका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए।
उनले भने, 'नेपालको कषि अनुसन्धानलाई कृषक र उत्पादनसँग जोड्दै कसरी अगाडि बढने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ।'
बीउ, प्रविधि तथा नश्ल सुधारका लागि अनुसन्धान पनि गहन हुनुपर्ने उनको भनाइ थियो।
उन्नत खालको बीउ र प्रविधिको प्रयोग नगरी उत्पादन बढाउन नसकिने भएकाले यस विषयमा नार्कको महत्त्वपूर्ण योगदान हुने बताउँदै उनले कृषि तथा कृषकको विकास कसरी हुन्छ भन्ने विषयमा नार्कले आफ्नो अनुसन्धानबाट प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिए।
मन्त्री भुसालले बीउ, प्रविधि तथा नश्ल सुधारका लागि भारतको कृषि अनुसन्धानसँग सहकार्यका लागि आइसीएआर तयार रहेको बताए।
नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले नार्कले गत आवको चौथो त्रैमासिक तथा वार्षिक प्रगतिमा प्रस्तुतीसहित नार्कमा हालसालै सुरु गरिएका सुधारका प्रयास र नार्कको आगामी कार्यदिशाको बारेमा समेत जानकारी गराए।
कार्यक्रममा कृषि मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा राजेन्द्र मिश्र, मन्त्रालयकै प्रशासन महाशाखाका सहसचिव मदन भुजेल, कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीलगायतको सहभागिता रहेको थियो।