न्यायको माग गर्दै ‘गौर हत्याकाण्ड’का पीडितले सुरु गरेको धर्ना आज पाँचौँ दिनमा पनि जारी नै छ। रौतहटको चन्द्रपुरमा उनीहरु पाँच दिनदेखि धर्नामा बसेका छन्।
गौर हत्याकाण्डका अपराधीलाई कानुनी कठघेरामा ल्याउन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित संघर्ष समितिले धर्ना सुरु गरेको हो। सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले धर्ना बस्नुपरेको पीडितहरु बताउँछन्।
धर्नामा बसेका पीडितले ‘हत्याकाण्डका नाइके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, मानव अधिकारको रक्षा गर, कानूनी शासन लागु गर’ जस्ता नारा लगाउँदै यसअघिदेखि नै आन्दोलनमा विभिन्न कार्यक्रम सम्पन्न गरिसकेका छन्।
संघर्ष समितिका संयोजक रुपसागर देवी उपाध्यायले शक्ति र सत्ताको बलमा अपराधीलाई जोगाउने प्रयास भएको भएपनि त्यो धेरै दिनसम्म नटिक्ने बताए। अपराधीलाई कारवाही गराउनका लागि आफूहरुको संघर्षका कार्यक्रमहरु परिमार्जन भएपनि त्यो जारी नै रहने उनले बताए।
यसअघि उनीहरुले गौरमा र्याली निकाल्नुका साथै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अपराधीलाई कारवाही माग गर्नुपर्ने बताउँदै आएका छन्।
हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशकभन्दा बढी हुन लाग्दासमेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै उनीहरुले आक्रोश व्यक्त गर्दै आएका छन्।
२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए।