इटहरी उपमहानगरपालिका-२० सेउती पुलमा विराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।
अटोमेटिक चाइनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थानसहित उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका-१० का ३४ वर्षीय अनसन राई रहेका छन्।
उनीहरूले उक्त पुलमा धरानबाट इटहरीतर्फ जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए।
गम्भीर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धानको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी समेतबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई धरान पुतली लाइनबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ।
पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ।
उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।