आठ अस्पतालको अनुगमन गर्दा एउटाले पनि मापदण्ड पूरा गरेको पाइएन– स्वास्थ्यमन्त्री

BreaknLinks
BreaknLinks

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँ उपत्यकाका आठ अस्पतालको एकैदिन अनुगमन गरेका छन्। मन्त्री बस्नेतले बिहीबार मन्त्रालयका कर्मचारीको चार टोलीसहित एकसाथ आठ अस्पतालको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा कुनै पनि अस्पतालले मापदण्ड पूरा नगरेको पाइएको मन्त्री बस्नेतले बताए। ‘अनुगमनको प्रारम्भिक रिपोर्टअनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्डअनुसार चलेको पाइएन। नियमविपरीत सञ्चालित अस्पतालहरुलाई अनुगमन टिमको रिपोर्टका आधारमा कानुनी कारबाही गर्छाैँ’, मन्त्री बस्नेतले भने।

स्वास्थ्य मन्त्रालयले मन्त्रालयका अतिरिक्त सचिवहरु डा. विकास देवकोटा, डा. टंक बराकोटी, डा. संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा ४ टोली बनाएर अनुगमन गरेको थियो।

टोलीले जोरपाटीको नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल तथा जावलाखेलस्थित अल्का अस्पताल, भैंसीपाटीस्थित नेपाल मेडिसिटी अस्पताल, महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूको मनमोहन सामुदायिक अस्पताल, भक्तपुर अस्पताल र गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा अनुगमन गरिएको थियो। जसमध्ये कुनै पनि अस्पतालले मापदण्ड पूरा नगरेको मन्त्री बस्नेतले जनाएका छन्।

मन्त्री बस्नेतले यसअघि पनि उपत्यका १०१ फार्मेसीको अनुगमन गरेका थिए। त्यसक्रममा एउटा फार्मेसीले मात्रै मापदण्ड पूरा गरेको पाइएको हो।

प्रकाशित मिति: : 2023-08-04 17:45:00

प्रतिकृया दिनुहोस्