डब्ल्यूएचओ दक्षिण-पूर्वी एसियाकाे निर्देशकमा नेपालको दाबी, डा.शम्भु उम्मेदवार

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण-पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा.शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्।

परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घलाई पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराइसकेको छ। दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन्। उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँ दिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ।

डब्ल्युएचओ दक्षिणपूर्वी एसियामा नेपाल र बङ्गलादेशसँगै भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर-लेस्टे सदस्य छन्।

आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आएका छन्।

आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ।

‘दक्षिणपूर्वी एसियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु’, डा.आचार्यले भने।

साथै कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

‘विश्वव्यापीरुपमा सूचना प्रविधिका क्षेत्रमा भएको, भइरहेको नवीन विकासलाई सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा अधिकतम प्रयोग गर्दै समता र समानताका आधारमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नु मेरो उद्देश्य हुनेछ’, उनले भनेका छन्।

डा.आचार्यले आफूले विश्वस्वास्थ्य सङ्गठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रुपमा काम गर्न अब्बल भएको पनि बताएका छन्।

‘क्षेत्रीय निर्देशक आफैँमा ठूलो जिम्मेवारी हो, यसका लागि मैले प्राप्त गरेको अनुभव तथा ज्ञानका आधारमा मैले यस क्षेत्रमा धेरै काम गर्न सक्छु र यसका लागि मसँग स्पष्ट योजना अनि लक्ष्यहरू पनि छन्’, उनले भने, ‘कोरोना महामारीलगायतले हाम्रो स्वास्थ्य प्रणाली कुन अवस्थामा छ भन्ने देखाइसकेको छ, त्यसैले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सेवालाई पनि थप बलियो बनाउनु जरुरी छ।’

दक्षिणपूर्वी एसियाका सदस्य राष्ट्रमा सरुवा रोगको नियन्त्रण तथा उन्मूलन गर्नु जरुरी रहेको तथा नसर्ने रोगहरुको बढ्दो सङ्क्रमण चुनौतीका रुपमा देखिएको उनले बताए।

उनले यसका लागि जनतामा चेनता जगाउनेदेखि रोकथाम तथा उपचार क्षमतालाई बढाउनुपर्नेमा जोड दिएका छन्।  आर्थिकरुपमा कमजोर समुदायमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच सुनिश्चिता पनि आवश्यक रहेको उनको धारणा छ।

‘स्वास्थ्य सेवा सुदृढीकरण लागि पशुपंक्षी, खाद्यान्न, वातावरण र स्वास्थ्य क्षेत्रलाई जोडर ‘वान हेल्थ अप्रोच’ बनाएर जानुपर्ने आवश्यकता छ’, उनले भने।

पाल्पादेखि जेनेभासम्म

आचार्यको जन्म पाल्पाको भुटुका गाउँमा भएको हो। उनले औपचारिक शिक्षा पाल्पाबाटै सुरु गरे। विद्यालयस्तरीय शिक्षा उनले त्यहीँ पूरा गने भने उच्च शिक्षाका लागि काठमाडौँ आए।

पाल्पाको सामान्य विद्यालयमा अध्ययन गरेर आएका आचार्यले विदेश अध्ययनसम्मको अवसर पाए। उनले अमेरिकाको इन्डियानास्थित बल स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरे। त्यसपछि गिलिङ्स स्कूल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नर्थ क्यारोलिना, अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरे।

आचार्यले विश्व बैंङ्कको वासिङ्गटनस्थित कार्यालय हुँदै बङ्लादेशको ढाकामा परामर्शदाताका रुपमा काम गरेका छन्।

डा. आचार्यले नेपालबाटै जनस्वास्थ्य सेवामा काम सुरु गरेका थिए। परिवार नियोजन संघ नेपालको फिल्ड डिभिजनको निर्देशकको रुपमा रहेर काम गर्दै बंगलादेशसम्म आफूलाई पुर्‍याए।

भारतमा कार्यरत रहेको एक वर्षमै उनी डब्लुएचओको मुख्यालय पुगे र महासचिवको मातहतमा रहेर काम गर्न थाले।

संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव बान कि मुनले १ नोभेम्बर २०१६ मा उनलाई यूएन सिस्टम स्टाफ कलेजको बोर्ड सदस्यका रुपमा दुई वर्षका लागि मनोनित गरेका थिए। उनको कार्य क्षमतालाई कदर गर्दै महासचिव एन्टोनियो गुटेरसले उनको कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाएका थिए।

डा. आचार्यका स्वास्थ्य नीति र पद्धति विकास एवं अन्य सार्वजनिक स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अनुसन्धानमूलक लेखहरु प्रकाशित छन्।

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा निर्वाचित भएमा दक्षिण तथा यो क्षेत्रमा बसोबास गर्ने झन्डै दुइ अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति पनि उनले तयार गरेका छन्।

प्रकाशित मिति: : 2023-08-10 12:44:00

प्रतिकृया दिनुहोस्