नेकपा (बहुमत) पार्टीको नाममा चन्दा उठाउने दुई जना पक्राउ

दाङमा नेकपा (बहुमत) पार्टीको नाममा डरधाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका–९ फलावाङका हाल त्रिवेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश विक रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो।

उनीहरुले विगतदेखि नै विभिन्न ठाउँमा डरधाक, धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमले बताए।

बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको गौतमले जानकारी दिए। पक्राउ परेका विक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरास्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन केसीसँग १० लाख माग गरेका थिए।

यस्तै यही साउन १८ गते कपुरकोटस्थित कालिका मा.वि.का शिक्षक बामदेव अधिकारीसँग ५ लाख, साउन २७ गते तुलसीपुर–१८  स्थित बेलझुण्डी मा.वि.की शिक्षिका जानका बस्नेतसँग १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक ईन्द्र बहादुर वलीसँग १ लाख रुपैयाँ उनीहरुले चन्दा माग गरेका थिए।

उनीहरुले पत्र पठाउँदै चन्दा माग गर्ने र चन्दा माग गरेको कसैलाई भने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्नेसमेतको चेतावनी दिने गरेको निमित्त प्रमुख गौतमले बताए।

परियार र विकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी (बहुमत)को नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ।

प्रकाशित मिति: : 2023-08-10 14:53:00

प्रतिकृया दिनुहोस्