एनआरएनए सचिवमा दक्षिण कोरियाबाट सुवेदीको दाबी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सहकोषाध्यक्ष यज्ञराज सुवेदीले संघको आगामी कार्यकालमा सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

कोरिया निवासी सुवेदीले संघको आगामी कार्यकालका लागि आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको बताए। ‘संस्थामा केही गरौँ भन्ने उदेश्यले सचिव पद रोजेको हुँ,’ उनले भने।

सुवेदी एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष हुन्। एनसीसी कोरियाको सफल नेतृत्व गरेका सुवेदी कोरियाका नेपालीमाझ लोकप्रिय छन्। ताप्लेजुङमा जन्मिएका सुवेदीले काठमाडौँको सरस्वती क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन्।

सन् १९९६ मा उनी कामदारका रूपमा कोरिया प्रवेश गरेका थिए। कामका साथै उनले कोरियामा अध्ययनलाई निरन्तरता दिए। उनले कोरियामा बसेर मानवशास्त्रमा स्नातकोत्तर पूरा गरे।

अध्ययनसँगै उनले कोरियामा रहेका आप्रवासीका लागि सहयोग गर्ने उदेश्यले गैर–नाफामूलक संस्थाको रूपमा आप्रवासी सहयोग केन्द्रको स्थापना गरेका थिए। यो संस्थामार्फत उनले नेपाली मात्र नभइ, विदेशी श्रमिकलाई पनि सहयोग गरेका थिए। सुवेदीले सन् २००९ मा कोरियाको नागरिकता प्राप्त गरिसकेका छन्।

कोरियामा विद्यमान विभेदकारी आप्रवासी कानुनको लामो समयदेखि विरोध गर्दै आएका सुवेदीले श्रमिकको हितमा बनेका कानुनलाई कडाईका साथ लागू गर्न दबाबमूलक भूमिका खेल्दै आएका छन्।

उनी दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिअन्तर्गत मल्टिकल्चरल विभागको उपाध्यक्ष समेत हुन्।

एनआरएनएको सचिव पदमा उम्मेदवारी दिनुको कारण बताउँदै सुवेदीले भने, ‘मैले संस्थागत सुधार, सहभागितामूलक एनआरएनए, विदेशमा सीप आर्जन र स्वदेशमा स्वरोजगारको एजेण्डा मेरा हुन्।’

उनी आफ्नो उम्मेदवारीलाई आर्थिक वा राजनीतिक दाउपेच भन्दा पनि सामूहिक सहकार्यका आधारमा तय भएको बताउँछन्।

देशभित्र कोभिड–१९ को महामारी चुलिँदा उनले दक्षिण कोरियाबाट करिब १ करोडभन्दा बढीको हाराहारीमा स्वास्थ्य सामाग्री पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए। उनको पहलमा दक्षिण कोरियाली सरकारले पनि नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो।

उनी दक्षिण कोरियामा बटुलेको अनुभवलाई नेपालमा साट्न चाहन्छन्। आफ्नो उम्मेदवारी यसैकारण भएको उनको तर्क छ।

एनआरएनएको केन्द्रीय विधान संसोधन समितिको सदस्यमा नियुक्त भएर सुवेदीले काम गरिसकेका छन्।उनले कोरियाका वर्तमान राष्ट्रपति मुन जे इनको अध्यक्षतामा रहेको उत्तर–दक्षिण कोरिया शान्तिपूर्ण एकता समितिको सल्लाहकार, दक्षिण कोरियाको सत्तारुढ दलको प्रवासी मामिलासम्बन्धी समितिको केन्द्रीय उपाध्यक्षमा रहेर पनि काम गरेका थिए।

प्रकाशित मिति: : 2023-08-10 16:30:00

प्रतिकृया दिनुहोस्