गण्डकी प्रदेश सरकारको लगानीमा तीन अस्पताल भवन बन्दै

file photo
file photo

गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ।

दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो। मुस्ताङ जिल्ला अस्पताल भवन १२ करोड, मनाङ जिल्ला अस्पताल भवन १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत आवमा मुस्ताङको अस्पताल भवनका लागि पाँच करोड, मनाङको अस्पताल भवनका लागि छ करोड र सरुवा रोग अस्पतालका लागि आठ करोड बजेट विनियोजन गरिएको थियो।

सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको थियो। गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७ दशमलव ०३ प्रतिशत भएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार मनाङ अस्पताल भवको ५८ दशमलव ०६ र मुस्ताङ अस्पताल भवनको ३२ दशमलव ०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ। पच्चीस शय्याको मुस्ताङ अस्पताल भवन विसं २०७७ चैत २२ मा शिलान्यास गरिएकामा निर्माणले अझै पूर्णता पाउन सकेको थिएन।

अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ। लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणका लागि बजेट अभाव रहेको सचिव डा शर्माले बताए। प्रदेश सरकारले चालु आवमा पनि स्वास्थ्यतर्फ कुल बजेटको जम्मा छ प्रतिशतमात्र बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ। न्यून स्रोतसाधन र जनशक्तिबाट मन्त्रालय र मातहतका निकायले कार्यसम्पादन गर्नुपर्ने स्थिति छ।

आधारभूत स्वास्थ्य सेवाका लागि औषधि किन्नसमेत बजेट पर्याप्त नभएको उनको भनाइ थियोे। क्यान्सर, मुटु, मिर्गाैला रोगका लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल स्थापना गर्ने प्रदेश सरकारको निर्णय पनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुनसकेको छैन। प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेशको गौरवका आयोजनाका रूपमा ती अस्पताल बनाउने घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2023-08-16 16:49:00

प्रतिकृया दिनुहोस्