‘अतिवादी’ धर्मगुरुलाई पुशुपतिमा ल्याएर नागरिकमाथि प्रहरीको लाठी बर्साइयो (भिडियोसहित)

तामझामका साथ ‘अतिवादी’ धर्मगुरु धिरेन्द्र शास्त्रीलाई पशुपतिमा ल्याएर नागरिकमाथि लाठी बर्साइएको छ।  

धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने भनेर आरोप लाग्दै आएका भारतीय धर्मगुरु शास्त्रीलाई पशुपतिमा ल्याएर नागरिकमाथि लाठी बर्साइएको हो। 

शास्त्री शुक्रबार साँझ करिब ४ः४५ मा प्रहरीको ठुलो सुरक्षासहित पशुपतिको दर्शमा पुगेका थिए। नागरिकलाई पशुपतिको दर्शनमा रोकेर शास्त्रीलाई भित्र छिराइएको थियो। 

कतिपय नागरिक उनै शास्त्रीको दर्शनका लागि पशुपति पुगेका थिए। त्यहाँ पुगेका नारिकलाई पशुपतिमा छिर्न नदिएर बाहिरै रोकिएको थियो। 

त्यही क्रममा केही युवाहरु मुल गेटबाट भित्र छिर्न नदिएपछि पर्खाल नाघेर भित्र छिरेका थिए। पर्खालभित्र पनि थुप्रै नागरिक थिए। उनीहरुलाई देखेर भित्र छिरेका केही युवामाथि प्रहरीले लाठी बर्सायो। 

प्रत्यक्षदर्शीका अनुसार अन्यलाई एक–दुई लाठी हानेको प्रहरीले एक युवालाई दर्जन बढी पटक लाठीले कुटपिट गरेको थियो। ती युवालाई कुटपिट गर्दै गेटबाहिर निकालेको थियो। 

तर भित्र अन्य धेरै नागरिकहरु थिए। उनीहरुलाई प्रहरीले निकालेन। बिएल मिडियाको सम्पर्कमा आएका ती युवाले प्रहरीले धेरै पटक कुटपिट गरेको र शरीरभरी निलडाम रहेको बताए। 

मधेश प्रदेशका उनी काठमाडौंमा अध्ययनका लागि बस्छन्। उनले नाम नखुलाइदिन आग्रह गर्दै भने, ‘म भित्रै बसेका थिएँ। अरु भित्र आएपछि मलाई प्रहरीले कुट्यो।’

उनले नाम खुलाएर के गर्ने भन्दै आफुलाई अन्याय भएको तर न्याय नपाइने कुरा व्यक्त गरे। 

धार्मिक कथा वाचकका रूपमा उदाएका शास्त्री एक विवादित पात्र हुन्। उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ। 

उनले हिंसा भड्काउने खालका अभिव्यक्ति दिने गरेका छन्। शास्त्रीले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्ने भन्दै अन्धविश्वास पनि फैलाउने गरेका छन्। 

उनै शास्त्रीलाई शुक्रबार तामझामका साथ पशुपतिमा छिराइएको छ। शास्त्रीले पूर्वी नवलपरासीको चौधरी समूहको शाश्वत धाममा भदौ २, ३ र ४ गते कथा वाचन गर्नेछन्।

प्रकाशित मिति: : 2023-08-18 19:45:00

प्रतिकृया दिनुहोस्