लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हरेक राजनीतिक परिवर्तनमा सञ्चार माध्यमको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।
उनले लोकतन्त्रमा सञ्चार माध्यम बलियो भए मात्र सरकार बलियो हुने समेत बताए।
बुटवलमा आजदेखि शुरु भएको प्रादेशिक ‘मिडिया’ सम्मेलनको उद्घाटनत गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन हुने र गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए।
उनले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरे। मुख्यमन्त्री चौधरीले मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुने भएकाले मिडिया बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको बताए।
मुख्यमन्त्री चौधरीले मिडियाको सवलिकरणमा प्रदेश सरकार सधैं साथमा रहेको र सरकारको प्राथमिकता पनि विकास तथा समृद्धि भएकाले त्यसमा साथ दिन सञ्चारमाध्यमलाई आग्रह गरे।
उनले प्रदेश सरकारले वर्षमा दुई लाख जनालाई रोजगारी दिने लक्ष्यसहितको कार्यक्रम ल्याएको र प्रदेशभरी त्यसको सम्भावना रहेको बताए।
प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तराष्ट्रियस्तरमा पनि छलफल गरेर कार्यक्रम अगाडि बढाउने बताए।
लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडिया सहभागी छन्।
सम्मेलनमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकार कनकमणि दीक्षित, युवराज घिमिरे, डा बालकृष्ण चापागाईंलगायतले सञ्चार माध्यमले वहुआयामिक चुनौतिको सामना गरिरहेको र यस्ता चुनौतिबाट मिडियालाई पार लगाउन सबैले सोच्नुपर्ने बेला आएको बताए।