ठूलो हल्लाखल्ला गरेर जेठ १५ गते राजावादीहरूले ‘जनआन्दोलन’ सुरु भएको घोषणा गरेका थिए। त्यो दिन उनीहरूले शान्ति बाटिकामा प्रदर्शन पनि गरे। त्यो बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए ‘तपाईंहरू काठमाडौं छोडेर कतै नजानुहोला। अब जनआन्दोलन सुरु भइसकेको छ। हामी राजसंस्था फर्काएरमात्रै घर फर्किनेछौं।’
अर्को दिन उनीहरूले माइतीघरमा प्रदर्शन गरे। त्यसपछि दरबारमार्गमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाइदियो र उनीहरू बालुवाटारतिर लागे। त्यसको अर्को दिन बालुवाटारमै प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई लछारपछार गर्दै गिरफ्तार गर्यो। उनलाई भेट्न पुगेका सांसद दीपक सिंहलाई पनि प्रहरीले केहीबेर थुनेर साँझपख छोड्यो।
त्यसपछि उनीहरूले आन्दोलन गरेका छैनन्। त्यसको केही दिनपछि आन्दोलनको समीक्षा गर्न भेला भएका राजावादीहरूले होहल्ला गरे। त्यो दिन राजेन्द्र लिङ्देन भने संसदमा थिए। उनीहरूले राजेन्द्र लिङ्देनलाई आन्दोलन भने संसद महत्वपूर्ण भएको भन्दै ‘बुढा’हरूबाट आन्दोलन नहुने भनेर हल्लाखल्ला गरे। कमल थापा बाहिरिए। आन्दोलन समितिका संयोजक नवराज सुवेदीले बैठक स्थगित भएको बताए।
त्यसपछि राजावादी युवाहरूले फेरि छुट्टै भेला गरे। यो बीचमा राजावादीको आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई हटाउने तयारी उनीहरूले गरिरहेका छन्।
चैत १५ गते उनकै नेतृत्वमा भएको आन्दोलन हिंसात्मक भएको थियो। दुई जनाको ज्यान गएको थियो भने कैयौ तोडफोड र आगजनी भएको थियो। त्यही आरोपमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल समशेर राणा लामो समय प्रहरी थुनामा रहे। त्यसपछि छुटेका उनीहरू सम्पर्कमै आएका छैनन्। उनीहरू अदालतमा हाजिर नभएको भन्दै उनीहरूको जमानी बस्ने वकिलहरूलाई ५० हजार जरिवाना तिराइएको छ। त्यो आन्दोलनलाई हिंसात्मक बनाउने दुर्गा प्रसाईंलगायत सयौं जना अहिले पनि प्रहरी हिरासतमै छन्।
यसरी आन्दोलनले गति लिन नपाउँदै राजावादीहरू भने तितरबितर भएका छन्। राजा ल्याएरै छोड्ने घोषणा गरेका राजेन्द्र लिङ्देनले पनि अब बर्खा लागिसकेका कारण ठूलो आन्दोलन नहुने बताइसकेका छन्। उनले वर्खापछि उपयुक्त समयमा आन्दोलनको सुरुवात हुने बताएका छन्।
यो बीचमा पूर्व राजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र भने चर्चासँगै सक्रिय पनि भइरहेका छन्। केही समयअघि ज्ञानेन्द्र आफैले हृदयेन्द्रलाई लिएर नारायणहिटी दरबार परिसरमा रहेको मन्दिरमा पूजा गरेका थिए। त्यसपछि उनी जेठ १९ गते आफ्ना दरबार हत्याकाण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्रलगायत परिवारको स्मरणमा कमलादीमा दीप प्रज्ज्वलनमा देखिए।
शनिबार मात्रै उनी आफ्ना आमा हिमानीसँगै जुम्ला पुगेका छन्। हिमानी ट्रस्टले त्यहाँ निर्माण गर्न थालेको वर्थिङ सेन्टरको शिलान्यास गर्न उनी जुम्ला गएका हुन्। उनीहरूसँगै राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि आफ्नै चुनावी क्षेत्र जुम्लामा छन्।