ललिता निवास प्रकरणका आरोपित पूर्वमन्त्री चन्द्रदेव जोशीले आफू फरार नभएको बताएका छन्।
जोशीले सोमबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) परिसरमा उभिएको तस्बिर सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नाे प्रतिबद्धता कायम रहेको उल्लेख गरेका छन्।
जोशीले सिआइबी प्रमुखले बाेलाएर पटक–पटक कार्यालयमै उपस्थित भए पनि बयान लिने काम नभएको बताएका छन्।
‘पहिलो पटक सिबिआई प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनुभयो। तर, फेरि अहिले नआउनु भनि खबर आयो। आज फेरि बोलाए बमोजिम सवा १ बजे सिबिआई कार्यालय पुगेको थिएँ। तर, बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो,’ जोशीले ट्विट गरेका छन्।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएका जोशी यसअघि साधारण तारेखमा छुटेका थिए।