तीन सय १० वर्षदेखि जुम्लाबाट निरन्तर चलिरहेको बडीमालिका तीर्थयात्रा 

मस्टाे परम्परामा पूजा लाग्ने चार वटामध्ये साउन पूर्णिमा महत्वपूर्ण मानिन्छ। देउताका पालीहरु(भक्तजन) लामाे तीर्थयात्रामा निस्कने भएकाले ठूलो जमघटसहित ठाउँठाउँमा मेला लाग्ने गर्छ।

जुम्लाबाट गरिने लामाे तीर्थयात्रामा छायाँनाथ, ऋणमाेक्ष, गरुडनहानी, माहाबुलगायत स्थानहरु पर्दछन्। जसमध्ये सबैभन्दा लामाे तीर्थयात्रा बडीमालिकामा हुन्छ। जुन सरकारी तवरबाटै हुँदै आएकाे छ।

त्यसैले साेमबार सरकारी टाेली औपचारिक रुपमा बडा बसाली, हजारौँ भक्तजनकाे उपस्थितिमा बाजागाजासहित बाजुरा जिल्लामा पर्ने बडीमालिका प्रस्थान गरेको छ। हरेक वर्ष सरकारी तवरबाटै समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा रहेका बडीमालिका जाने गरिएकाे छ।

याे वर्ष जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौँ भक्तजनको टोली बडीमालिका प्रस्थान गरेकाे प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा बडीमालिकामा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट सरकारी टाेली उता जाने रित बसेकाे संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।

'सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँच वटा सलामी, बाजागाजा र बिगुल फुकेर पूजाको डाेलीसहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गर्ने गरिएकाे छ,' उनले भने।

बाइसी राज्य हुने बेलादेखि नै हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन बसेकाे हाे।

डोटी र बाजुराबाट बडीमालिका आउने र जुम्लाबाट समेत त्यहाँ पुगेर संयुक्त रुपमा पूजा गर्ने प्रचलनअनुसार नै सरकारी टाेलीलाई बिदाइ गरी पठाइएकाे प्रजिअ घिमिरेले बताए।

'बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको छ,' उनले भने, 'हरेक वर्ष यसरी नै नागरिकको उत्साह बढिरहेकाे पाइन्छ। याे तीन सय १०औँ बडीमालिका यात्रा रहेछ। हाम्राे टोली १५ दिनपछि जुम्ला फर्किनेछ।'

संस्कृति सम्बन्धका जानकार आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरु (पेटारो) नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका लागि पठाउने चलन छ। त्यसैगरी उताबाट पनि मन्दिरका लागि उपहार आउने गरेकाे छ।

सरकारी तवरबाटै बडीमालिका गएर दुईवटा राज्यले सांस्कृतिक समन्वय गरेर दुनियाँलाई देखाए अनुरुप नै याे लामाे तीर्थयात्राकाे संस्कृति विकास भएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरिन्द आचार्यले बताए।

'यस्ताे दुर्लभ संस्कृति संरक्षणमा राज्यले जोड दिनुपर्छ,' उनले भने, 'बडीमालिकामा वर्षमा एकपटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिष्णुताको विकाससँगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको छ।'

औपचारिक पूजाआजाको परम्पराअनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोटलगायत जिल्लाबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्रा बडीमालिकामा हुने गरकाे छ।

पछिल्लो समय बडीमालिका विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे स्थानकाे रुपमा परिचित हुँदै गएकाे छ। मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ। त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन्।

२२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन्। समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौँ प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्यहाँ पुगेकाहरू बताउँछन्।

पौराणिक कथानुसार महादेवकी पत्नी सतीदेवीले पिता दक्ष प्रजापतिको अग्निकुण्डमा प्राण त्याग गरेपछि पत्नी वियोगले विक्षिप्त बनेका महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्न थाले।

स्कन्दपुराणको मानसखण्डमा वर्णन गरिएअनुसार महादेवले बोकेको सतीको शरीर नगलेपछि भगवान विष्णुले झिँगाको उत्पत्ति गरी गल्ने बनाए। यसरी सतीदेवीका गलेका अङ्गहरू ठाउँ-ठाउँमा पतन हुँदै (झर्दै) खस्न थाले। जहाँ-जहाँ सतीका अङ्ग पतन भए त्यहाँ-त्यहाँ एक एकवटा शक्ति पीठ उत्पत्ति हुँदै गए।

यसै क्रममा मल्लागिरि पर्वतमा सतीदेवीको बायाँ कुम पतन भयो। बायाँ कुम पतन भएको यो क्षेत्रमा शक्ति पीठ उत्पन्न भयो। यही मल्लागिरि शब्द अपभ्रंश हुँदै मल्लिका भनिन थालियो। यही मल्लिका अथवा मालिकादेवी शक्ति स्वरूपले रहन थालिन्। कालान्तरमा यही ठाउँमा बडीमालिका मन्दिर स्थापना गरी पूजा गर्न थालियो।

बडीमालिकाका बारेमा अरु पनि थुप्रै किंवदन्ती सुन्न पाइन्छ। किंवदन्तीमा जुनसुकै कुराको चर्चा गरिए पनि देवीको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास छ। बडीमालिकाको पूजा-आराधना गर्दा सन्तान नभएकालाई सन्तान, धन नहुनेलाई धन एवं सुख-शान्ति प्राप्त हुनुका साथै सबै किसिमका रोग निको हुने विश्वास छ।

त्यहाँ अरुबेलामा भन्दा जनैपूर्णिमामा बढी भीड हुन्छ। मेला भर्न नेपालका मात्र नभएर भारत कुमाउ, गडवाल र उत्तराखण्डबाट श्रद्धालु भक्तजन बडीमालिका पुग्ने गरेका छन्। बडीमालिकाको मेलामा आउनेहरूमध्ये आधाजसो विभिन्न वरदान माग्न र आधाजसो मनोकामना पूरा भएपछि धन्यवाद दिनका लागि पुग्ने गरेका हुन्छन्।

बडीमालिकाको पूजाका लागि जुम्लालगायत कालिकोट, डोटी, अछाम र बाजुराबाट प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीहरूको टोली पनि पुगेकाे हुन्छ। 

प्रकाशित मिति: : 2023-08-21 16:54:00

प्रतिकृया दिनुहोस्