सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए।

संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा गत साउन १८ गते सिफारिस गरेको थियो। साथै सो उपर साउन २३ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। साेमबार उक्त उजुरीउपर सुनुवाइ गर्दै प्रस्तावित प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको थियाे।

जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतमा न्याय सम्पादनमा सक्रिय रहेका श्रेष्ठ ३१औँ प्रधानन्यायाधीश बनेका छन्।

विसं २०१६ असोज २० गते डोटी जिल्लामा जन्मिएका श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास भए पनि हाल काठमाडौँ कुलेश्वरमा बस्दै आएका छन्।

कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गरेका थिए। श्रेष्ठको कार्यकाल १४ महिना बाँकी छ। उनी २०८१ साल असोज १९ मा अनिवार्य अवकाशमा जानेछन्।

प्रकाशित मिति: : 2023-08-21 19:21:00

प्रतिकृया दिनुहोस्