भारी वर्षाको सम्भावना

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। 

यसका साथै नेपालमा हाल भारतको उत्तरप्रदेश, मध्यप्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

भोलि मङ्गलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने अनुमान गरिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।

प्रकाशित मिति: : 2023-08-21 21:01:00

प्रतिकृया दिनुहोस्