अल्ट्रा धावक कुँवरलाई तातोपानीले मासिक पाँच हजार खाजा खर्च दिने

जुम्लाकाे तातोपानी गाउँपालिकाले आफ्नाे वडा नम्बर ७ सर्मीका अल्ट्रा धावक दलबहादुर कुवँरलाई मासिक पाँच हजार खाजा भत्ता दिने भएकाे छ।

पछिल्लो समय अल्ट्रा मार्फत आफ्नाे करियर निर्माण गरिरहेका उनी तिब्र गतिमा दाैडिने धावककाे रुपमा परिचित हुँदैछन्। दाैडिएर आफ्नाे पालिकाकाे र देशकाे नाम परिचित गराउन याेगदान दिएकाे भन्दै तातोपानी गाउँपालिकाले मासिक पाँच हजार खाजा खर्च दिने निर्णय गरेकाे हाे। उनले गत बैशाखमा भएकाे ४९ किलोमिटर चौथो अल्ट्र रारा म्याराथन -२०८० को उपाधि हात पारेका थिए भने रुकुम आयाेजित गुरिल्ला अल्टा म्याराथनमा पनि प्रथम स्थान हासिल गरेका थिए।

यसरी विभिन्न क्षेत्रमा दैडिएर गाउँपालिकालाई परिचित गराउन भूमिका खेलेका धावक कुवँरलाई पालिकाले सम्मान स्वरुप खाजा खर्च दिने निर्णय गरेकाे अध्यक्ष नन्दप्रसाद चाैलागाईंले बताए। 'उहाँलाई पालिकाले मासिक पाँच हजार रुपियाँ डाइड (खाजा) खर्च बापत प्रदान गर्ने निर्णय गरेका छाैं,' उनले भने, 'उहाँले खेलकुदकै माध्यमबाट हाम्रो पालिका, जिल्ला र देशलाई नै चिनाउँदै आउनु भएकाे छ।'

खेलाडीलाई सम्मान स्वरुप खाजा खर्च बापत मासिक पाँच हजार रुपियाँका दरले वार्षिक ६० हजार रुपियाँ बजेट व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए। उनले भने, 'खेलाडीलाई प्रोत्साहन गर्नका लागि खाजा खर्चको व्यवस्थापन गरिएको हो।' धावक कुवँरलाई अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिर्दै आएका छन्।

प्रशिक्षक राेकायाले पालिकाले खेलाडीलाई यसरी प्राेत्साहन गर्नु भनेकाे स्थानीय सरकारले खेल क्षेत्रलाई बुझेको मानिने बताए। 'हालसम्म संघीय सरकारले खेलाडीकाे मर्म बुझेकाे छैन,' उनले भने, 'पालिका सरकारले प्राेत्साहन गर्नु संघ सरकारलाई चुनाैती हाे।' उनका अनुसार याे सकारात्मक कदम हाे। यसले खेलाडीलाई उत्साहित गराउनेछ। धाव कुँवर कर्णाली स्पाेर्ट क्लवमा आवद्ध छन्। क्लवले खेलाडीलाई लामो समयदेखि प्रशिक्षण दिदै आएको अध्यक्ष सराेज शाहीले बताए।

प्रकाशित मिति: : 2023-08-23 17:02:00

प्रतिकृया दिनुहोस्