एक वर्षमा हात्तीका सात छावा

फाइल तस्विर
फाइल तस्विर

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन्। निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो संख्या हो।

तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन्। तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उनले बताएका छन्। गण्डकीकलीलेसमेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिए।

गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो। चौधरीले भने, ’हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन्। एउटा बचाउन सकिएन, एउटा शुक्लाफाँटा गएर जन्मियो।’ उनले हात्ती प्रजननमा अहिलेसम्मकै धेरै सङ्ख्यामा बच्चा जन्मिएको बताउँदै यो निकुञ्जकै महत्वपूर्ण उपलब्धि भएको बताएका छ।

चौधरीका अनुसार अघिल्लो आवमा एउटामात्रै बच्चा जन्मिएको थियो। ‘यो वर्ष थप तीन हात्ती गर्भवती भएका छन्। आगामी आवमा आठदेखि नौ वटा बच्चा जन्मिने सम्भावना छ’, उनले भने। 

बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने चौधरीले जानकारी दिनुभयो। यस वर्ष बच्चा जन्माएका सबै हात्ती गर्भवती भइसकेका छन्। उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ। हाल जन्मिएका अधिकांश बच्चा जङ्गली हात्ती रोनाल्डा र गोविन्देका हुन्। गत वर्ष रोनाल्डो चार महिना तालिम केन्द्र क्षेत्रमा रहेकाले गर्भवती भएका अधिकांश हात्तीको प्रजनन रोनाल्डोसँग भएको उनको भनाइ छ।

जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिएको चौधरीले बताए। उनका अनुसार तालिम केन्द्रले गत वर्ष नौ हात्तीका बच्चालाई तालिम दिएर पोष्टमा पठाएको थियो। ‘गत वर्ष कसरामा र सौराहामा दुई–दुई तथा बेलसहर, कछुवानी, बगही, बाघमारा र अमृते पोष्टमा एक–एक हात्ती तालिमपछि पठाइएको छ’, उनले भने, ‘तीन महिनामा तालिम सम्पन्न हुन्छ।’

चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल १२ माउ हात्ती छन्। निकुञ्जमा ६० सरकारी हात्ती छन्। ती हात्ती पोष्टमा सुरक्षामा खटिने गर्दछन्। विसं २०४४ देखि सुरु भएको हो। विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए। हालसम्म ६३ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-28 16:48:00

प्रतिकृया दिनुहोस्