अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आएपनि छोड्न आवश्यक छैन, मेरो पार्टीको त के कुरा: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आएपनि छोड्न आवश्यक नभएकाे बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोही नछूटोस्, निर्दाेष कोही नपरोस् भनेर आफूले स्पष्ट रुपमा प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए।

उनले भने, ‘ यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन। मेरो पार्टीको त के कुरा।’

दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा सकारात्मक प्रभाव परेको उल्लेख प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताका सन्दर्भमा कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरेको स्पष्ट पारे।

उनले आफ्नो या पराय भनेर विभेद नगरेको स्पष्ट पार्दै सबै भ्रष्टाचारमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताए।

आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताए। केही हुँदैन भन्ने निराशावादी भाष्य चिर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो। 
    

प्रकाशित मिति: : 2023-08-29 12:32:00

प्रतिकृया दिनुहोस्