धानको उत्पादन बढाउन सरकारले सहयोग गर्छ: कषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउन चैते धानको उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि सरकारले सिँचाइ, बीउविजन, यन्त्रलगायतका प्रबन्ध मिलाउन तयार रहेको मन्त्री भुसालले बताए।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय ललितपुरमा बुधबार आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री डा. भुसालले यस्तो बताएका हुन्।

चैते धानको उत्पादन बढाउनका लागि कृषि र सिँचाइ मन्त्रालयका बीचमा समन्वय गरी योजना निर्माण भइरहेको बताउँदै उनले योजना निर्माणपश्चात आक्रमक रुपमा योजनाहरु लागु गरी धान उत्पादन अहिलेको भन्दा बढी गर्ने बताए।

‘देशैभरी रहेका खाली जग्गाको हामीले उपयोग गर्छौँ। हामीलाई चाहिने भन्दा बढी नै धान उत्पादन हामी गर्न खोजेका छौँ। त्यसका लागि चैते धानको उत्पादन बढाउन रणनीति निर्माणमा लागेका छौँ’, मन्त्री भुसालले भने, ‘सिँचाइ, बीउबिजन, यन्त्रलगायतको प्रबन्ध सरकारले गर्छ। सिँचाइका लागि कृषि र सिँचाइ मन्त्रालयका बीचमा अहिले छलफल चलिरहेको छ। किसानलाई आवश्यक विषय हामीले उपलब्ध गराउनेछौँ।’

कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले कृषि क्षेत्रमा भइरहेको अनुसन्धान तथा विभिन्न कार्यक्रमले कृषि र कृषकको विकासका साथै सरकारले अघि सारेका योजना एवं रणनीति पूरा गर्न लागि परेको बताए।

कृषि र कृषकका विकासका लागि नार्कका वैज्ञानिक एवं कर्मचारीले गरिरहेका विभिन्न कामले सरकारको लक्ष्य प्राप्तिका लागि सहयोगी सिद्ध हुने उनले बताए। सरकारका योजना एवं रणनीतिलाई पुरा गर्नका लागि नार्क लागि परेको उनले बताए।

प्रकाशित मिति: : 2023-08-30 17:01:00

प्रतिकृया दिनुहोस्