एकता र सद्भावलाई थप उचाइमा पुर्याउनु पर्दछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासदेखि कायम हुँदै आएको एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा प्रयोग गर्नुपर्ने बताएका छन्। 

नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनै पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीलाई शुभकामना दिँदै उनले  सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन्। 

'प्राचीन कालदेखि नै नेपाल विभिन्न जातजाति, भासाभासी, सभ्यता र संस्कृतिको सङ्गमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ। जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन्', शुभकामना सन्देशमा भनिएको छ। 

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार, बेथितिको अन्त्य गरी सुशासन कायम गर्न, व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन तथा विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताको सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सङ्कल्पमा रहेको पनि सन्देशमार्फत उनले दाबी गरेका छन्। 

'पछिल्लो समय सरकारको तर्फबाट जे–जति पहलहरू लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित छन्। तसर्थ, यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्याउनसमेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछु', सन्देशमा भनिएको छ। 

प्रकाशित मिति: : 2023-08-31 09:26:00

प्रतिकृया दिनुहोस्