जनताको पक्षमा काम गर्ने संसद बनाए संसदवादीको समर्थन गर्न तयार छौँ: विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनताको पक्षमा काम गर्ने संसद बनाए संसदवादीको समर्थन गर्न तयार रहेको बताएका छन्।

शुक्रबार समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले सुशासनको पक्षमा वर्तमान सरकारको लडाइँलाई साथ दिने जिकिर गरे।

सरकार र संसद भत्ता खाने, पैसा कमाउने र गफ गर्ने अखडाबाट मुक्त हुनुपर्ने उनको भनाई छ।

‘सरकार भनेको भत्ता खाने, पैसा कमाउने, गफ गर्ने अखडा होइन। संसद पुँजीवादीहरुको गफ गर्ने थलो बनेको छ। संसद, सरकार र पार्टीहरु जनताका सेवक हुन्। जनताको पक्षमा लड्ने साधनको रुपमा काम गर्नुपर्छ’, उनले भने।

संसदलाई गफ गर्ने अखडाबाट मुक्त बनाइ जनताको न्यायका पक्षमा कानुन बनाउनुपर्ने भन्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार जनताको सरकार हामीले भनेका छौँ। सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा जुन केन्द्रमा लडाइँ चलिरहेको छ, हामी त्यसलाई पूरै समर्थन गर्न तयार छौँ। गर्नुपर्दछ, देशभरिबाट गर्नुपर्छ। संसदमा हुनुहुन्छ, संसदलाई गफ गर्ने अखडाबाट जनताको न्याय पक्षमा कानुन बनाउनुस्, देशको स्वाधिनताको पक्षमा काम गर्ने साधन बनाउनुस्, हामी संसदवादीको समर्थन गर्न तयार छौँ। साथ दिन तयार छौँ। सडकको मोर्चामा हामी लडिरहेका छौँ।’

जनयुद्धको स्मरण गर्दै उनले सरकार, सदन र सडक सबै मोर्चा आश्यक रहेको बताए। उनले चौतर्फी रुपमा माओवादीमाथि आक्रमण भैरहेकाले पनि जनता अलमलमा रहेको उनको भनाई थियो।

‘कार्यकारी प्रमुख (प्रचण्ड) विरुद्ध एउटा हत्याका आरोप अहिले बजार चोकचोकमा चलिरहेको छ। आज अपराधीहरूको आरोप माओवादीहरुको विरुद्ध लगाइएको छ। माओवादीले विदोह गर्नु भनेको अपराध र हत्यारा हुन भन्दै बजारमा चार्चा छ नि। जसले एउटा परिवर्तनको नेतृत्व गर्यो, उसै कार्यकारी प्रमुखले समेत मुद्धा खेप्नु परेको छ। सुन्छु छिटोभन्दा छिटो प्रचण्डहरुलाई जेलमा पुर्याउनुपर्छ। छिटोभन्दा छिटो  माओवादीहरुलाई जेलमा अपराधी करार गरिनुपर्छ भन्नेहरुको भिड। माओवादीप्रति ठुलो हमला छ। माओवादीहरु टुट्नमात्र होइन, जुट्न पनि जानेका छन्’ उनले भने।

प्रकाशित मिति: : 2023-09-01 18:18:00

प्रतिकृया दिनुहोस्