पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ।
यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ। बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ। विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको छ। जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचना, बाटो र गोरेटो लच्किएका छन्। पहिराले अलैँची र अम्रिसो बगानमा क्षति पुर्याउन थालेको छ।
मालबाँसे टोलका ८० वर्षीय मेखबहादुर सुहाङका अनुसार विगतमा स–सानो पहिरो झर्ने गरेको भए पनि यस वर्ष सुरु भएको पहिरोले बस्तीलाई जोखिममा पारेको छ। 'मेरो १५ मुरी धान फल्ने खेत र अलैँची बारी बगाएर लैजान आँट्यो', उनले भने, 'जमिन सबै लच्किएको छ। ठूलो वर्षा भए थाम्न गाह्रो छ। हामीलाई समस्या पर्ने भयो।' बस्तीभन्दा माथि रहेको फाँटका सबै पानी डोलिएर मालबाँसे बस्ती हुँदै जान्छ। यस वर्ष अत्यधिक वर्षा भएका कारण जमिनले पानी थेग्न नसकेको उहाँको भनाइ छ। मालबाँसेबाट बगेर जाने पानी ढुङ्गे खोल्सी वा पाहाङ्गवीरे (पाङ्ग्रे) खोल्सीबाट निकास गर्न सके पहिराको जोखिम केही कम हुने उनको भनाइ छ।
मालबाँसेकी रनमाया खुदाङका अनुसार पहिरोबाट अहिले यहाँका नौ घर उच्च जोखिममा परेका छन् भने करिब ४० घर रहेको सिङ्गो बस्ती नै जोखिममा परेको छ। 'पहिराले हाम्रो घरलाई घेरा दिइराखेको छ। पहिले साना–साना पहिरो जाने गरे पनि अहिलेजस्तो धेरै ठाउँ धाँजा फाटेर बग्न थालेको थिएन', उनले भने। अहिलेसम्म धानखेती, अलैँची र अम्रिसो खेतीमा पहिराले क्षति पुर्याएको छ। तर ठूलो वर्षा हुँदा बस्ती नै पहिराले बगाउने जोखिम रहेको उनको भनाइ छ।
स्थानीयवासी वीरेन्द्र सुहाङका अनुसार पहिरोका कारण यहाँका अनिल खुदाङ, सन्तोष खुदाङ, आइन्द्र सुहाङ, वीरेन्द्र सुहाङ, हर्कबहादुर सुहाङ, मानबहादुर खुदाङ, दीपेन्द्र खुदाङ, आइतराज खुदाङ, डिल्लीराम सुहाङलगायतका घर उच्च जोखिममा परेका छन्। तुरुन्तै सरोकारवाला पहिरो रोकथाममा नलागे यहाँका ४० घर विस्थापित हुने खतरा रहेको उनको भनाइ छ।
हिलिहाङ गाउँपालिकाका पशु प्राविधिक एवं हिलिहाङ–५ भालुखोपका स्थानीय बासिन्दा ओमप्रकाश पौडेलले जथाभावी सडक निर्माण र अत्यधिक गोलिया कटानीका कारण पहिराको जोखिम बढेको बताए। 'अहिले पहिरो गएभन्दा मुनिबाट सडक निर्माण र गोलिया कटान तथा निकासी चलिरहेको छ। वर्षायाममा समेत गोलिया कटान र सडक निर्माण हुँदा पहिराको जोखिम बढेको छ', उनले भने, 'अहिले मालबाँसे क्षेत्रमा रहेका ४० घरमध्ये १०–१५ घरबाहेक सबै जोखिममा परेका छन्।' जथाभावी सडक निर्माण र गोलिया कटान बन्द गर्न सके पहिराको जोखिम कम हुने उनको अनुमान छ।
हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्रातीका अनुसार गत वर्षबाट पहिरो बढ्दै गएको पाइएको छ। जोरपोखरीदेखिको भल डोलिएर आउने गरेको, वर्षायाममा पानीका मुहान फुटेर मालबाँसे बस्ती हुँदै ठूलो पानी बग्ने गर्नाले पहिरो झर्न सुरु गरेको उनको भनाइ छ। पहिराका कारण लाखौँको अलैँची र अम्रिसो उत्पादन हुने क्षेत्र र सिङ्गो बस्ती जोखिममा परेको मङ्ग्रातीले बताए। 'अहिलेसम्म तीन–चारवटा घर लच्किएका छन् भने सानो–ठूलो पहिरो जान थालिसकेको छ', उनले भने, 'विगतमा जस्तै अत्यधिक वर्षा हुने बाढी आउने भइरहे यहाँ दर्दनाक स्थिति आउन सक्छ।'
यस स्थानमा विगतदेखि नै पहिरो जाने गरेको भए पनि गत वर्षबाट बढ्दै गएको र यस वर्ष बस्तीसमेत लच्किएको हो। स्थानीय वयोवृद्ध मेखबहादुर सुहाङका अनुसार उनका बाबुबाजे बसोबास गरेको बाँजे भन्ने स्थान अहिले पहिराले घेरिएको छ। 'त्यहाँ वरिपरि पहिरो आएपछि यहाँ बसाइँ सर्नुभएको रहेछ', उनले भने, 'पहिराबाट जति भाग्दै गयो, उति लखेट्दै लग्यो।'
हिलिहाङ–५ का वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार सुभाङ खोलाबाट अलैँचे हुँदै विगतमा पहिरो झर्ने गरे पनि यस वर्ष बस्ती नै प्रभावित हुन लागेको हो। विशेषतः ढल निकासी नहुँदा पहिराको जोखिम बढेकाले मालबाँसे बस्ती हुँदै बग्ने पानी कटाउन यस वर्ष रु दुई लाख बजेट ब्यवस्था गरिएको उनले जानकारी दिए। 'जोखिम बढेकाले चाँडै ढल निकासीका लागि काम सुरु गराउँछौं', उनले भने।