सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउन महानगरले पहल गर्छः बालेन शाह

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन्।

एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले मङगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् स्टेडियम बनाउन पहल गर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ।’

श्रीलंकाको रंगशाला नेपालको त्रिवि क्रिकेट स्टेडियम जस्तै रहेको बताउँदै उनले भनेका छन्, ‘त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद।’

त्यसैगरी क्रिकेट समर्थकको रुपमा खेल हेर्न श्रीलंका पुगेका नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनको कर्मचारी समेत चकित परेको उनले बताए।

‘यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन्?’ श्रीलंकाको अध्यागमनका कर्मचारीले प्रश्न गरेको भन्दै उनले लेखेका छन्, ‘ श्रीलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए।’

नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको बताउँदै उनले भने, ‘नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब भारतीय खेलाडीहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो। ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ।’

प्रकाशित मिति: : 2023-09-05 10:42:00

प्रतिकृया दिनुहोस्