अष्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँकाे चाहना

चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ।

इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अष्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानीजसँगको भेटवार्तामा एशिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताए। उनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताए।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्र्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा जाने बताएका छन्। सन् २०१६ यता अष्ट्रेलियाका प्रधानमन्त्रीबाट चीन भ्रमण भएको छैन।

आसियान शिखर सम्मेलनसँगै आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकमा भाग लिन इन्डोनेशिया आउनुभएका अष्ट्रेलियाका प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि चीनका राष्ट्रपतिले आफूलाई बेइजिङ भ्रमणका निम्ति आमन्त्रण गरेकाे पत्रकारहरूलाई बताए।

प्रधानमन्त्री अल्बानिजको यो भनाइ अष्ट्रेलियाको आयातमा चिनियाँ प्रतिबन्धलगायत राजनीतिक एवं आर्थिक मुद्दामा वर्षौंदेखि जारी द्वन्द्वपछि आएको हो। उनले निमन्त्रणाका लागि राष्ट्रपति सीप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री लीसँगको वार्ता रचनात्मक भएको बताए। यद्यपि उहााले दुई देशबीच सम्बन्ध सुधार गर्न थप संवाद आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2023-09-08 05:38:00

प्रतिकृया दिनुहोस्