हेर्दै जाउँ जाउँ लाग्ने त्रिवेणी पाटन [बडीमालिका] (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

करिब ४ हजार मिटर उचाइमा आकाशझैँ फिजिएको आँखाले भ्याउन नसकिने फाँटहरु। ती फाँटहरुलाई ढकमक्क छोप्ने गरी फुलेका थरिथरिका भुइँफूलहरु। छेउ छेउबाट कलकल गरी बग्ने खोलाहरु। फाँटमा रमाइरहेका घोडा अनि भेडाहरु। घरि-घरि ढपक्क ढाक्ने अनि प्रकृतिलाई नुहाइ धुवाइ गरी उज्यालो पारि जाने हुस्सुहरु! अनि उज्यालो हुँदा पारि क्षितिजमा देखिने सेता हिमालहरु। कहिल्यै यस्तो स्थानबारे कल्पना गर्नुभएको थियो ?

आज म विपनामा यहीँ छु। भौगोलिक हिसाबले बिकट तर अनेकन सुन्दरता बोकी सारा संसारलाई सुन्दरताको परिभाषा सुनाउन अनि साक्षत्कार गराउन आतुर रहेको सुन्दर सुदूरपश्चिमकाे एक सुन्दर स्थान, यो हो बडीमालिका क्षेत्रको त्रिवेणी पाटन। आज हामी यही सुन्दरतामा रमाउनेछौँ, सँगै यो सुन्दर गन्तव्यसम्म पुग्न, हामीले पार गरेका यात्राको बारेमा हेर्ने छौँ। स्वागत् छ, बाजुरास्थित बडीमालिका क्षेत्रको त्रिवेणी पाटनमा।

उकालो, तेर्सो अनि आरालो गरी बाजुरा सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल यात्रापछि पुगिने रहेछ त्रिवेणी पाटन। प्रवेश गर्दा नै सारै आनन्दको अनुभूति दिने दृश्यले दुई दिनको कठिन हिँडाइ बिर्साइदिँदो रहेछ।

त्रिवेणी पाटन :

समुद्र सतहबाट ४ हजार मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले सार्है नै सुन्दर देखियो। जति बयान गरे पनि थोरैझैँ लाग्ने। आँखाले हेरि नभ्याउने हरिया थुम्काहरु, थुम्कामा खेलीरहेका घोडा अनि भेडाको बथान, रंगीचंगी फूलहरु आहा ! कति रमाउने यो मन। पाटनबाट तीन वटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको रहेछ। यो क्षेत्र कालीकोट र बाजुरा जिल्लाको सीमानामा पर्दो रहेछ।

यात्रा भने बाजुराबाटै सजिलो रहेछ। त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूलहरु फुल्ने रहेछन। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेकोले त्रिवेणी पाटन सुन्दरताको हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै रहेको बडीमालिका मन्दिरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ। मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडीमालिका पुग्ने गरेको छन्। हिँउदमा हिउले छोपेर सेतो देखिने त्रिवेणी पाटनलाई अहिले भने हरियालीको सुन्दरताले श्रृंगारेकाे छ।

त्रिवेणी पाटन घुम्दै गर्दा छुटाउनै नहुने एउटा भाग रहेछ। बाजुराको व्यक्तिहरुले यो फाँटलाई खेतीपाती भन्दारहेछन अनि कालीकोटकाले धान जिउला। अद्भुद दृश्य देख्न पाइने रहेछ यहाँ। खेतको गरा-गराजस्तै गरी सानो-सानो आली बनेको, जहाँ धान रोपाइँ गरेसरि धानकै बिरुवाहरु रोपिएको। मान्छेले रोपेको होइन रे यो। कसैले यसलाई चराचुरुंगीले रोप्ने गरेको भन्दा रहेछन भने कसैले कुनै अदृश्य आत्माले रोपेको भन्ने सुन्न पाइयो। जे होस्, अनौठो नै लाग्यो। त्रिवेणी पाटन घुम्दै गर्दा छुटाउनै नहुने भाग रहेछ यो।

बडीमालिका मन्दिरबारे किम्बदन्ती :

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन्। सतिदेवी दक्ष प्रजापतीको यज्ञास्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनको कारण सोधिन्।

दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, समसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए।

आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन्। त्यसपछि महादेव रिसाएर वीरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए। त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पूरा विश्व घुम्न थाले।

यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए। यसरी ठाउँ-ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले। यसरी ठाउँ-ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछि जहाँ-जहाँ सतिका अङ्ग पतन भए त्यहाँ-त्यहाँ एक-एक वटा सिद्ध पिठ बन्दै गए। यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो। त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो।

नेपालका विभिन्न धार्मिक र पर्यटकीयस्थलमध्यको एक प्रसिद्धस्थल हो बडीमालिका मन्दिर। यो मन्दिर सूदूरपश्चिमका नौ भगवतीहरुका मन्दिरहरुमध्ये एक मन्दिर मानिन्छ।

प्रकाशित मिति: : 2023-09-09 09:37:00

प्रतिकृया दिनुहोस्