जुम्ला: राहत शिक्षकहरुकाे संगठनमा राजनीति घुसेपछि

महेश नेपाली

काठमाडाैँ

जुम्लामा नेपाल राहत शिक्षक समन्वय समितिकाे सम्मेलनका क्रममा राजनीतिक पार्टीका भातृ संगठनका कारण भाँडभैलाे सुरु भएकाे छ। राहत शिक्षकाे हक अधिकारका निम्ति गठित समितिमा राजनीतिक संगठन हाबी हुँदा शिक्षकहरु जट्ने भन्दा पनि फुट्ने दिशामा अगाडि बढेका छन्। उनीहरू खुलेआम एक अर्काेलाई आराेप लगाउँदै हिडेका छन्।

शनिबार दिउसाे भएकाे उद्घाटन सत्रकाे व्यानरमा दाेस्राे जिल्ला सम्मेलन लेखिएपछि एक समूहले तेस्राे जिल्ला सम्मेलन हुनुपर्ने भन्दै दाेस्राे जिल्ला सम्मेलनबाट निर्वाचित समितिकाे अस्तित्व नै मेटाउने प्रयत्न गरिएकाे राहत शिक्षक देवेन्द्र शाहीले बताए।

'पहिलाे सम्मेलनले मेगनाथ याेगीलाई अध्यक्ष बनायाे। दाेस्राेबाट अमर बहादुर शाही अध्यक्ष हुनुभयाे,' उनले भने, 'हिजाे उद्घाटन सत्रमा दाेस्राे जिल्ला सम्मेलन भनेर लेखिनु र पहिलो सम्मेलनका अध्यक्षकाे अध्यक्षतामै समिति गठन हुनुले दाेस्राे जिल्ला सम्मेलनकाे अस्तित्व नै नरहेकाे देखाएकाे छ। जाे अत्यन्तै घृणित कदम हाे।'

सम्पूर्ण राहत शिक्षकहरुकाे सर्वसहमतिले भदाैं १८ गतेकाे भेलाबाट आफूलाई संयाेजक ताेकिएकाे र त्यही समितिले नै जिल्ला सम्मेलन सम्पन्न गरि सर्वसहमतिले नयाँ समिति गठन गरिएकाे राहत शिक्षक मेघनाथ याेगीले बताए।

'उद्घाटन सत्रमा सबै साथीहरुकाे उत्साहजनक सहभागिता भयाे। सर्वसहमतिमै मलाई अध्यक्षकाे जिम्मेवारी दिइएकाे हाे,' उनले भने, 'वर्तमान समयमा सम्पूर्ण राहत शिक्षकका माग पूरा गराउन सक्रिय नेतृत्व आवश्यक पर्ने भएकाे हुँदा मलाई जिम्मेवारी दिइएकाे हाे।' 

उनका अनुसार अमर शाही नेतृत्वकाे समितिले पाँच वर्षमा कुनैपनि काम नगरेका कारण सक्रिय नेतृत्वकाे खाेजी भएकाे हाे।

जिल्ला अध्यक्ष अमर बहादुर शाहीले आफूलाई नै थाहा नदिएर सम्मेलन तयारी समितिकाे संयाेजक कसरी ताेकियाे भन्दै अचम्ममा परेकाे बताए। 

'कार्यक्रममा आफू निकटका शिक्षक संगठनका पदाधिकारी र एक चाैथाई भन्दा कम शिक्षककाे उपस्थिति गराएर सम्मेलन गराउन खाेजियाे,' उनले भने, 'अध्यक्ष मेघनाथ जीलाई नै बनाउने थियौं। तर सहभागिता व्यापक गराउँ भन्दा बलमिच्याइँ गर्नुभयाे।'

कुल एक सय ८९ जना राहत शिक्षक भएकाे जुम्लामा २५ जनाकाे उपस्थितिमा सम्मेलनकाे उद्घाटन सत्र संचालन गरिँदा बैधानिकता माथि प्रश्न उठ्ने राहत शिक्षक देवेन्द्र शाहीले बताए। 

उनले भने, 'हाम्रा मागमा सकारात्मक भएका सबै शिक्षक संगठनलाई अतिथिकाे रुपमा आमन्त्रित गर्नुकाे साटाे कुनै अमुक पार्टीको शिक्षक संगठनलाई मात्रै बाेलाउने र आफ्ना निकट मान्छे मात्रै राखेर समिति बनाउन खाेज्दा समस्या आएकाे हाे। जुन पूर्ण रुपमा पूर्वाग्रह प्रेरित छ।'

कर्यक्रममा पेशागत महासंघकाे केन्द्रीय सदस्य, शिक्षक महासंघका सहअध्यक्ष र माओवादी निकट शिक्षक संगठनलाई मात्रै बाेलाएर अन्य संगठनलाई उपेक्षा गरिएकाे बताइएकाे छ।

संघीय शिक्षा ऐन प्रतिनिधि सभामा आउने भएकाले त्यसमा राहत शिक्षकका हक अधिकार स्थापित गराउन व्यापक उपस्थिति र एकता जरुरी रहेकाले आन्दोलनलाई चुस्त दुरुस्त र सशक्त रुपमा अगाडि बढाउन बन्द सत्र स्थगित गर्नुपरेकाे विज्ञप्ति मार्फत जिल्ला अध्यक्ष शाहीले जानकारी दिएका छन्। 

यता राहत शिक्षका पहिलाे जिल्ला अध्यक्ष याेगीले सम्मेलन तयारी समितिकाे संयाेजक आफू भएकाे भन्दै आफ्नाे नेतृत्वमा निर्वाचित समिति बैधानिक भएकाे बताएका छन्।

प्रकाशित मिति: : 2023-09-10 10:07:00

प्रतिकृया दिनुहोस्