पोकली

२०६५ वैशाख २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोकली झरना हेर्न पुगेका थिए। पर्यटन महोत्सव भनेर कार्यक्रम भब्य भयो। अहिलेलाई यो विषय यत्ति नै।

अब कुरा गरौं यात्रको-

अघिल्लै दिनको योजनाअनुसार बिहानै ५ बजे सुमो गाडीका चालकले फोन गरे।

चालक: सर उठ्नुभयो?

म: तयार छु, ब्यागको जीपर बिग्रेर तनावमा छु।

चालक: ह्या! छोड्नुस्, म मैनबैत्ती घोटेर बनाइहाल्छु नि!

हल्का हाँसेर मैले भनें : यति बिहानै मैनबत्ती कहाँ पाउनु भयो?

चालक: अरे सर, गाउँ-घरमा बस्ने मान्छे तिहारका लागि किन्या थिएँ, गाउँमा बत्ती झलमल भयो, गाडीमै थन्किराछ…।

बानेश्वरबाट हाम्रो यात्रा सुरु भयो।

धुलिखेल पार गर्ने बित्तिकै अब उहाँलाई म ‘गुरु’को सम्बोधनसहित अघि बढ्दैछु।

म सन्तकबीरलाई सम्झन्छु-

गुरु गोविन्द दोऊ खडे, काके लागूं पांय,
बलिहारी गुरु आपने, गोविन्द दियो बताय!

गुरुको अनुरोधमा चिया खाजा सकेर यात्रा अघि बढ्यो।

हामी जसै रोशी खोला पार गर्दै हुँइकियौं, कठ्याङ्ग्रिएको पुसको चिसो सिरेटोले यात्रालाई थप रोमाञ्चक बनाउँदै लग्यो।

ए ठंड हवाके झोंके चल्ते हे हल्के हल्के
ऐसे में दिल नतोडो वादे करो न कल के…!

सुमो गाडीमा मेरो मोबाइलको म्युजिक ब्लुटुथ सम्पर्क दिएँ।

तलत शाम शहद गुञ्जिन थाले।

वीपी हाईवेको सडकमा मार्क्सवाद हुँइक्या अनुभव हुन्छ। समाजवाद आउला भनेर सिन्धुलीको कोइराला निवास पर्खिराको दूरदेखि कल्पनामा नजर दौडाएँ।

त्यो मौनतालाई चिर्न खोज्दै गुरुले भने: कता टोलाउनुभयो सर?

मैले भनें: समाजवादको सपनामा जापनीज प्रविधिमा हुँइक्या थिएँ। राजमार्ग आँखै रिङाउने मोडहरूमा मैले वीपीका ‘तीन घुम्ती’ सम्झिएँ।

नेपालथोक पुग्नै लाग्दा मैले जगदीश घिमिरेको ‘लिलाम’ सम्झिएँ। दासताका विरुद्ध घिमिरेका शब्द बुलन्द लाग्छन् सधैं। लिलामको पात्र बहादुरे घनघोर लाग्छ। पैतृक ऋणको भारी बोकेको दलवीरेको चरित्र जीवन्त छ, त्यो समाजिक पृष्ठभुमिमा।

उनका समकालीन साहित्यमा घिमिरेको लेखनलाई एउटा यात्राबाट मात्रै सम्झिन मुस्किल छ।

सुनकोशीको चिसो सिरेटोले गाडीका झ्यालका चरबाट उन्मुक्त चासो देखाउन खोज्छन्।

मन्थलीमा ओखलढुङ्गे होटलको खानाले शरिरमा न्यानो थप्छ। केही बेरमै मन्थली-दोलखा सडक खण्डबाट एउटा अफरोड बाटो हलेदेदेखि माथि लाग्छ। उकालोको ग्रभेल बाटो धोवी पुगेर केही बेर विश्राम मिल्छ।

प्रहरीको केरका सँगै चेकपोस्टमा गाडीको इण्ट्री सकेर यात्रा ओरालो लाग्छ।

भुस्वाको उकालो-ओरालोमा तलको भीर ह्याउ खसाउने लाग्छ। दिलौरीसम्म नपुग्दा आङ नै सिरिङ्ग हुने त्यो बाटो।

सैंपु-दिलौरी आफैँमा दिलदार लाग्छ मलाई। उपल्लो सैंपुको ब्यापारिक केन्द्र। केही पसल र भट्टीले त्यहाँको ताजगी देखाइरह्यो। दुरागाउँ, प्रिति भुजीजस्ता दुर्गम भेगतिर दिलौरीको उपस्थिति दरिलो रहन्थ्यो।

सैंपुको भैंसे डाँडा राजनीतिक रुपमा गर्मिलो स्थान। माओवादी, कांग्रेस, एमाले, मसाल र जनमोर्चा सबै भेटिने ठाउँ हो भैंसे डाँडा।

उसो त पुराना कम्युनिस्ट नेता चतुरमान सुनुवार यहीँका रैथाने हुन्। पुष्पलालसँगको सङ्गतका विषयमा मैले उनीसँग घण्टौं बिताएको सम्झन्छु। उता पुष्पराज पौडेल जो श्रमजीविका पक्षमा सैंपु बसेरै पनि वकालत गर्न खप्पीस अनुहार हुन्।

केही बेर सैंपुको विश्रामपछि यात्रा फेरि ओरालो लाग्छ।

सल्लेरी भीरपाखाक बाटो शिरिसेसम्म निरन्तर अघि बढ्छ। लिखु खोला जो सप्तकोसीको एउटा सहायक नदी हो। हाईड्रोका तीन प्रोजेक्ट लिखु- १, लिखु- २ र लिखु- ३ ले लिखु करिडोरको सम्भावनालाई बलियो बनाइराखेका छन्।

काठमाडौँबाट सुरु भएको पहिलो हाम्रो यात्रा ढाडे पुगेर मधुरिन थालेको साँझसँगै बास बस्छ।

ढाडे ओखलढुङ्गा र रामेछापको संगम हो अनि सिमाना पनि। लिुखु खोला पारि र ओखलढुङ्गा वारि रामेछाप।

पोकली झरना पुग्ने लक्ष्य पछ्याउँदै हिँडेका हामी पहिलो दिन ढाडेमा रात्रि भोजनसहित एक दिनको यात्रा पूरा हुन्छ। ढाडेबाट पारि पोकली झरना झरेको देखिन्छ, तलको लिखु खोला सुस्याउँदै बगिरहेछ अविरल।

बिहान भालेको डाँकोसँगै तातो चियाले दिनको सुरुवात हुन्छ।

रोटी र तरकारीवाला ‘ब्रेकफास्ट’सँगै नजिक पोकलीको पैदल यात्रा सुरु भयो।

लिखु पुल तरेर ओखलढुङ्गा पाइला टेक्दै गर्दा म पाण्डव सुनुवार सम्झन्छु। सुनुवार वस्तीबाट रेडियो नेपालका चर्चित कार्यक्रम ‘फोन-इन’ प्रस्तोता पाण्डव दाजुको पुर्ख्यौली थलो यतैकहीँ रहेछ।

सतत झर्दछ निर्झर झर्झर, छलकिई छहरा-जल छल्छल, कति मनोहर यो मधुर स्वर, बजिरहेछ कि अन्तर अन्तर…

कत्ति लता, तरू औ गिरि-गह्वर, हरित विस्तृत निर्जन जंगल, कसरी निर्झरको स्वर प्यूँदछन्, सुखद, सुन्दर जीवन गर्दछन्…

म सिद्दिचरण श्रेष्ठका कविताका यी हरफहरू सम्झन्छु।

अनि उनको चर्चित कविता मेरो प्यारो ओखलढुङ्गा कसरी बिर्सनु र है!

समुद्री सतहदेखि लगभग दुई हजार मिटरभन्दा बढी उचाइमा छ ओखलढु्गाको अवस्थित पोकली झरना। यो झरना १ सय ३१ मिटर इलिभेसनको छ।

काठमाडौँबाट करिब १ सय ८० किलोमिटरको दुरी पार गरेर यहाँ आइपुग्दा वेग्लै प्रकृतिक मनोरम भेटिन्छ। अहिले त पोकलीसम्म यातायातको पहुँच छ। ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि पश्चिमतिर रहेको यो झरना पुग्न सदरमुकामबाट करिब एक दिनभरि पैदलयात्रा गर्नुपर्छ।

तर, काठमाडौंबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थलीसम्म कालोपत्रे र बाँकी हलेदे, धोबी सैंपु, शिरिसे, ढाडे हुँदै ‘अफरोड’ भएर झरनासम्म पुग्न सकिन्छ।

उचाइका हिसाबले कालीकोटमा रहेको १ सय ४८ मिटरको पचल झरना नेपालको पहिलो अग्लो र पोकली दोस्रो झरना मानिन्छ।

पर्यटकीय सम्भाव्यताको प्रचुर सम्भावना बोकेको पोकली झरनाका अनेकौ किंवदन्तीहरू छन्।

झरनाको पृष्ठभूमि बुझ्न र प्राकृतिक तजागी उपभोग गर्न एक पटक यहाँ आफैं पुग्नुपर्छ।

शब्दमा गरिने बयानबाट झरनाको प्यास मेटिदैंन।

प्रकाशित मिति: : 2023-09-16 07:00:00

प्रतिकृया दिनुहोस्