आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमहरु सम्पादन तथा व्यवस्थापनमा जुम्लाका आठ वटा स्थानीय तहहरूमध्ये सिंजा गाउँपालिका प्रथम भएकाे छ।
स्वास्थ्यका ३२ वटा सुचकहरु राखेर गरिएकाे मूल्यांकनबाट सबैमा राम्राे गरेर सिंजा गाउँपालिका प्रथम भएकाे जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए। 'सिंजाले ३२ वटै सुचकमा राम्राे गरेकाे छ,' उनले भने, 'औषतमा सिंजाले ७९ दशमलव एक अंक प्राप्त गरेकाे हाे।'
उनका अनुसार ३२ वटा स्वास्थ्य सुचकमा खोपकाे नियमितता, आमा सुरक्षा, परिवार नियोजन, पोषण, रोग नियन्त्रण, नवजात शिशुकाे स्वास्थ्य हेरचाह लगायत रहेका हुन्छन्।
स्वास्थ्य चौकीले दिने आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य सेवा केन्द्रका सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालगायत सबैकाे लगाबका कारण प्रथम हुन सकिएकाे सिंजाका स्वास्थ्य शाखा प्रमुख ललित राेकायाले बताए।
'स्वास्थ्य सेवा प्रवाहकाे विषयमा जनप्रतिनिधिले निरन्तर सकारात्मक उत्प्रेरणा जगाइरहनुभएको छ,' उनले भने, 'उहाँहरुकाे उत्प्रेरणाले हामीलाई याे उपलब्धि मिलेकाे छ। आगामी दिनमा यसलाई निरन्तरता दिनु हाम्राे दायित्व हाे।'
जनस्वास्थ्य कार्यालयले आइतबार आ.व २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रममा गरेर सिंजा गाउँपालिका प्रथम भएकाे घाेषणा गरेकाे हाे।
जिल्लाका आठवटा पालिका मध्ये चन्दननाथ नगरपालिका ७८ अंक प्राप्त गरेर दाेस्राे तथा हिमा गाउँपालिका ६४ दशमलव आठ अंक प्राप्त गरेर तेस्राे भए भने भने सबैभन्दा कम ५५ दशमलव दुई अंक प्राप्त गरेर गुठीचाैर गाउँपालिका अन्तिम स्थानमा छ।