प्रचण्डले किन भेटे अमेरिका लुकेकी पूर्वउपमेयर दर्शनालाई?

BreaknLinks
BreaknLinks

अमेरिका गएर उतै लुकेकी कालिकोट तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपाली उर्फ दर्शनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटेका छन्। दर्शनाले राष्ट्र संघको महासभामा भाग लिन अमेरिका भ्रमणमा रहेका प्रचण्डसँगको  फाेटाे सार्वजनिक गरेर भेटको समाचार बाहिर ल्याएकी हुन्।

दर्शना १७ अक्टोबर २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्क सहर उडेकी थिइन्। त्यतिखेर नेपाल नगरपालिका संघले उनलाई अमेरिका भ्रमणका लागि पठाएको थियो।

एक साताका लागि उडेकी उनी करिब पाँच वर्षदेखि अमेरिकामै छिन्। सामाजिक संजालमा खासै सक्रिय नदेखिने उनले प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्बिर भने सामाजिक संजालबाटै सार्वजनिक गरेकी छिन्। 

उनले सामाजिक संजाल फेसबुकमा तस्बिरसहित सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत भनेर लेखेकी छिन्। उनको फेसबुक स्टाटस छ, 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरुलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। अमेरिकाको बसाई सुखद रहोस्, हार्दिक शुभकामना।'

उनी उतै रहेको खबरपछि बिएल नेपाली सेवाले १४ जनावरी २०१९ मा उनको म्यासेन्जरमा बुझ्न खोजेको थियो। 'म दर्शना होइन, उहाँको साथीको बहिनी हो। उहाँ बिरामी हुनुहुन्छ। बोल्न सक्नु हुन्न। बेकार तनाब नदिनुहोला। उपचार राम्रो भइरहेको छ' भन्ने जवाफ आएको थियो।

१६ नोभेम्बर २०१९ पछि सामाजिक संजालमा निष्क्रिय उनी २२ फेब्रुअरी २०२१ देखि केही सक्रिय भएकी थिइन्। त्यस यता उनी प्रायश: न्युयोर्क शहरको पृष्ठभूमिमामा व्यक्तिगत तस्बिर र भिडियो सामाजिक संजालमा पोष्ट गरिरहेकी हुन्छिन् भने केही दिनयता सार्वजनिक मञ्चमा सहभागी भएका तस्बिर पनि देखिन थालेका छन्।

हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दललाई भेटेपछि राजनीति वृत्तमा पुन: उनको चर्चा सुरु भएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी उनी एक हजार आठसय ४३ मत ल्याएर निर्वाचित भएकी थिइन्। 

तिलागुफामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अधिकांश वडासहित मेयर र उपमेयर जितेको माओवादीले ०७९ को निर्वाचनमा मेयर, उपमेर दुबै गुमायो। याे हारको एउटा कारणमा दर्शनाले गरेको जनमतको उपहास पनि हो । उनको गैरजिम्मेवार अमेरिका पलायनले माओवादीको संगठनलाई ठूलो धक्का लागेको छ। 

कालिकोट त्यसमा पनि तिलागुफामा बलियो रहेको माओवादी संगठन कमजोर बन्नुमा जिम्मेवार रहेकी दर्शनालाई प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले किन भेटे? प्रधानमन्त्री प्रचण्डले कार्यकाल सकिन साँढे दुईवर्ष बाँकी रहँदै कार्यकारी पद छोडेर जनमतको अपमान गरेकी पूर्वउपमेयर भेट्नुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ। 

युद्धकालीन समयमा पार्टी र विचारलाई त्यागेमात्रै पनि भौतिक कारबाही व्यहोरेर ज्यान गुमाएका कयौ कार्यकर्ता छन्। ती हाल आएर नजिर बनेका छन्। सामन्यत: कम्युनिस्ट पार्टीमा धोका दिने कारबाहीमा पर्छ। त्यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अझ बढी देखिन्छ। युद्धकालमा माओवादीले यसको व्यापक रुपमा प्रयाेग गरेको थियो। 

कठिन अभ्यासबाट सत्तामा पुगेको माओवादीले देशलाई दिएका थुप्रै उपलब्धि मध्ये एक पावरफुल स्थानीय तह र संघीयता हो। 'माओवादीको उपहार, गाउँगाउँमा सिंहदरबार' नारा दिएर आफ्नो उपलब्धिबाट सत्ता राजनीतिलाई टिकाइराख्न चाहने माओवादीलाई दर्शनाको अमेरिका मोहले धक्का दिएकाे छ। त्यसैको परिणाम हो, तिलागुफामा माओवादी बिनाको गाउँको सिंहदरबार।

तिलागुफा सिंहदरबारकी चल्ताफुर्ता उपमेयरले जनमत र पार्टी संगठन समेतलाई धोका दिइन्। उनैलाई देशका प्रधानमन्त्रीले भेट्दा सार्वजनिक वृत्तमा शंका उत्पन्न हुन अस्वभाविक मानिन्न।

भ्रष्टाचार विरोधी फाइल खोलेर पूर्वगृहमन्त्री समेतलाई जेलमा कोच्न आँट गरेका प्रचण्डले साँढे दुईवर्ष कार्यकारी पद चलाएर जनतालाई हर–हिसाबसम्म नदिएकी दर्शनालाई कुन नैतिकताले भेटे? नेतृत्वले पार्टीका महत्त्वपूर्ण गतिविधि गोप्य राख्न सक्छ। तर जनतासँग झुटो बोल्दैन। दर्शनाले खुलेआम जनतालाई धोका दिँदै अमेरिकाको सुख–सयल रोजेकी छन्। यतिबेलाको सक्रियता हेरेर जनमतको घोर अपमान गर्नेको मुख सम्म हेर्न नचाहनुपर्ने प्रचण्डले अमेरिकामा रहकी दर्शनालाई दुधले धोएको देखे? वा उनी पार्टीकै जिम्मेवारी लिएर अमेरिका बसेकी हुन। यदि पार्टीको जिम्मेवारीले अमेरिका बस्ने छुट छ भने जनताको जिम्मेवारी कसले पूरा गर्ने?

यतिबेला माओवादीले 'घरघरमा माओवादी, जनजनमा माओवादी' अभियान चलाइरहेको छ। त्यसको प्रचार पोष्टरमा प्रचण्डको ठूलो तस्बिर राखिएको छ। साइडमा ठूला अक्षरले लेखिएको छ, 'भ्रष्टहरू मेरा मात्रै हाेइनन्। यिनीहरू त देशैका शत्रू हुन्।' यदि यसो हो भने जनमतको अपमान गर्नेलाई के ठान्ने? वा प्रचण्ड नेतृत्वको सरकारले के ठान्छ? यी प्रश्नको जवाफ तस्बिरले नै 'गला गाँस्ने' गरी दिएको छ।

सामाजिक संजालमा सार्वजनिक तस्बिरमा सामाजिक संजालकै प्रतिक्रिया छन्, 'तस्करका नाइकेसँग भेटेपछि तस्बिर त खिचाउनु नै पर्‍यो नी।' यस्ता प्रतिक्रियाको जवाफ कसले देला? वा सचेत वर्गले प्रचण्ड सरकारलाई कसरी मुल्यांकन गर्ला? हेर्दै जाउँ के–के हुन्छ?

प्रकाशित मिति: : 2023-09-19 07:39:00

प्रतिकृया दिनुहोस्