प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन्।
नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आयोजना गरेको २–१७८औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन गर्न सिकाएको बताए।
महानिरीक्षक कुँवरले भने, ‘प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ। सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ।’ कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उनले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए।
देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक कुँवरको भनाइ थियो।
राज्यले प्रदान गरेको अधिकारको दुरुपयोग नगरी सही मार्गमा जान उनले सबैलाई निर्देशन दिए। नेपाल प्रहरीको विश्वासले राज्यको छवि बलियो हुने भन्दै उनले सिकेका कुरालाई विवेकसम्मत कार्यान्वयनमा ल्याउन आग्रह गरे।
कार्यक्रममा विसं २०७९ भदौ २० गतेदेखि सञ्चालनमा आएको तालिममा सहभागी ५५ महिलासहित चार सय २६ प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए। कार्यक्रममा शिक्षालयकी समादेशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले दीक्षित सबैलाई कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे।