आर्थिक अभावका कारण प्रवेशको उपचारमा समस्या

BreaknLinks
BreaknLinks

जुम्लाको तिला गाउँपालिका–४ का २० वर्षीया प्रवेश कामी विगत ७ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररत छन्। उनी एक्कासी श्वास प्रश्वासनमा समस्या भएपछि भेन्टिलेटरमा पुगेका हुन्।

उनलाई सुरुमा निमोनिया र टाइफाइट भएपछि उपचारका लागि ल्याइएको थियो। यस अघि नियमित चेकजाँच गर्ने र औषधी प्रयोग गरिरहन्थे। 

निमोनियाका कारण फोक्सोमा दाग देखाएको र श्वास प्रश्वासमा समस्या आउँदा भेन्टिलेटरमा लिइएको क्रिटिकल कियरका डाक्टर नविन थापाले बताएका छन्। 

'शरीरमा हुनुपर्ने अक्सिजन समेत नभएको, धड्कन अस्वभाविक रुपमा बढेकाले भेन्टिलेटरमा लिनु परेकाे हाे,' उनले भने, 'भेन्टिलेटरमै उपचार थाल्यौं। सामान्य विरामीलाई बढीमा ३/४ दिन भेन्टिलेटरमा राखेपछि होस आउने, कुरा गर्ने, स्वास्थ्य अवस्थामा सुधार आउने हुन्छ। तर प्रवेशको स्थिती त्यस्ताे छैन।' 

उनका अनुसार ७ दिन बितिसक्दा पनि उनलाई भेन्टिलेटरबाट बाहिर निकाल्न मिलिरहेकाे छैन। निकालेकाे खण्डमा  तुरुन्त श्वासप्रश्वासनमा समस्या आउँछ।

नियमोनियाको बिरामी सामान्य अवस्थामा आएपछि बोल्न सक्छ। तर सघन उचार गर्दा पनि नबोल्ने, आँखा नखोल्ने, संकेत गर्दा पनि प्रतिक्रिया नदिने समस्या बढ्दै जाँदा प्रवेश विकको मष्तिस्कमा समस्या हुन सक्ने अनुमान गरिएको डाक्टर थापाकाे भनाइ छ।

सिटी स्क्यान बाहेक सबै किसिमकाे चेकजाँच भइसकेकाे छ। नबोल्ने, आँखा नहेर्ने समस्या आएकाे हुँदा सिटि स्क्यान जरुरी रहेकाे डा. थापाले बताएका छन्। 

'उनकाे शरीरमा अक्सिजन अत्यन्तै कम छ। शरिरमा अक्सिजन कम भयो भने त्यसले दिमागमा असर गर्छ,' नविनले भने, 'भेन्टिलेटरबाट निकाल्यो की एक मिनेट बाहिर बस्न सक्दैनन्। जिल्ला बाहिर लिनलाई पनि निकै समस्या छ। हाललाई हेलिकप्टर एउटा विकल्प हाे।'

प्रवेशकाे स्वास्थ्य बिमाकाे सबै रकम सकिएपछि समस्या आएकाे छ। परिवारकाे आर्थिक स्थिति कमजोर छ। हाल उनकाे उपचारका निम्ति दैनिक १० हजार खर्च भइरहेको छ। यस्ताे अवस्थामा थप उपचारका लागि हेलिकप्टरबाट लिन सक्ने सम्भावना नै छैन।

निमोनियाका कारण छात्तीमा मात्र समस्या भएको भए हाल सम्म सुधार हुन्थ्यो। तर समस्या दिमागमा हुन सक्ने डा. थापाले बताएका छन्। 

सबै जायजेथा बिक्री गर्दा पनि हेलिकप्टर रिजर्भ गरेर बाहिर उपचारकाे लागि लैजान सम्भाव नभएकाे प्रवेशकी आमा विष्णु कामीले बताइन्। 

'लाउलाउ खाउखाउ भन्ने उमेरको छोरा जीवन मरणको दोसाँधमा छ। रातदिन रोएर उसैकाे चिन्ता मात्रै लाग्न थाल्याे,' उनले भनिन्, 'घरको अवस्था नाजुक छ। विमाकै भर थियो, त्यो पनि सकियो। कसरी छोराको मुख भेट पाउने होला? डाक्टर बाहिर लिनुहोस भन्छन्। हामी क्यागरी लिउँला?'

गहभरी आँसु गर्दै विष्णुले छोराको प्राण रक्षाका लागि सहयाेगीहरुसँग याचना गरेकी छिन्। 

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले सक्ने जत्ति नि:शुल्क उपचार गर्ने बताए। उनले भने, 'सबै विवरण अध्यायन गरी प्रतिष्ठानले गर्न सक्ने जत्ती राहत उपलब्ध गराउनेछ।'

प्रकाशित मिति: : 2023-09-22 19:56:00

प्रतिकृया दिनुहोस्