पुष्पा र अञ्जली कोसी टप्पुमा

फाइल तस्बिर
फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ।

पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो। 

विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोको उपस्थितीमा ती गैँडालाई छाडिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिएका छन्। 

गैँडालाई चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली यहाँ आएको थियो। कोसी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो।

पहिलो चरणमा गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने आरक्षका संरक्षण अधिकृत यादवले बताएका छन्।  

केही वर्ष अघि कोसी टप्पुबाट चितवन निकुञ्जमा १३ वटा अर्ना लगिएको थियो।  तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट गैँडा ल्याउनुपर्ने माग गरेका थिए। सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो।

प्रकाशित मिति: : 2023-09-27 18:20:00

प्रतिकृया दिनुहोस्