सभामुख देवराज घिमिरेले गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताएका छन्।
बिहीबार १८औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताए।
उनले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्रविरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई शहीदहरूको अपमान पनि भएको बताए।
आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्ने उनको भनाई छ।
सभामुख घिमिरेले नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र दिवस जनताको बलिदानीपूर्ण सङ्घर्षलाई स्मरण गराउने प्रत्येक नेपालीको साझा गौरवको दिन भएको उनले उल्लेख गरेका छन्।