‘कर असुल्न’ छुट पाए ट्रम्पले

आयातित विदेशी सामग्रीमा चर्को भन्सार कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा संघीय पुनरावेदन अदालतले केही राहत दिएको छ। 

एउटा अन्तर्राष्ट्रिय वाणिज्य अदालतले बुधबारमात्रै ट्रम्पले घोषणा गरेका सबै प्रकारका करहरूलाई ‘अवैधानिक’ भन्दै त्यसको कार्यान्वयनमा रोक लगाएको थियो। 

अमेरिकाको न्यूयोर्कस्थित ‘यूएस कोर्ट अफ इन्टरनेशनल ट्रेड’ (वाणिज्य अदालत)ले ट्रम्पले लगाएका विश्वव्यापी करहरूलाई गैरकानुनी भनेको थियो। उक्त अदालतको आदेश जारी भएको केही मिनेटभित्रै ट्रम्प प्रशासनले पुनरावेदन अदालतको ढोका ढक्ढक्याएको थियो। 

२४ घण्टाभित्रै संघीय पुनरावेदन अदालतले भने वाणिज्य अदालतको आदेशलाई उल्ट्याइदिएको छ। यद्यपि यो पूर्ण फैसला हैन र अर्को सुनुवाई आगामी जुन ५ मा तोकिएको छ। त्यो बेलासम्म अब ट्रम्प प्रशासनले यसअघि घोषणा गरेका सबै प्रकारका करहरू संकलन गर्न पाउनेछ। 

वाणिज्य अदालतले सन् १९७७ को कानुन तथा इन्टरनेशनल इमरजेन्सी इकोनोमिक पावर्स एक्ट (आईईईपिए)को मर्मअनुसार राष्ट्रपति ट्रम्पले उक्त कर लगाउन नपाउनेगरी फैसला सुनाएको थियो। अमेरिका भित्रिने सामग्रीहरूमा कर लगाउनका लागि ट्रम्पले उक्त कानुन ब्यूँझाएका थिए। 

अब पुनरावेदन अदालतले उक्त फैसला उल्टाइदिएपछि ट्रम्प प्रशासनलाई कर असुलिरहने बाटो खुलेको छ। वाणिज्य अदालतको उक्त आदेशसँगै ट्रम्पले कडारुपमा टिप्पणी गरेका थिए। 

‘अमेरिकाका अमेरिकी नागरिकका लागि यो एउटा भयानक, त्रुटिपूर्ण तथा राजनीतिक फैसला हो’ ट्रम्पले भनेका थिए ‘हामीलाई आशा छ सर्वोच्च अदालतले यो भयानक अनि देशलाई नै खतरा निम्तिनसक्ने निर्णय चाँडै नै उल्ट्याइदिनेछ।’

पुनरावेदनपछि ट्रम्प प्रशासन सर्वोच्च अदालतसम्मै पुग्ने तयारीमा छ। 

ह्वाइट हाउसले पनि वाणिज्य अदालतप्रति कडा टिप्पणी गर्दै ‘कार्यकारीको निर्णयका विरुद्ध अभियान्ताजस्ता न्यायाधीशहरूलाई फैसला सुनाउने अधिकार नभएको’ बताएको थियो।

‘अमेरिकाको सुरक्षा, अमेरिकी जनताको चाहना र वैदेशिक नीति अनि आर्थिक नीति राजनीतिक अंगले तय गर्छन् वा देशको कार्यकारी प्रमुखले त्यसलाई कार्यान्वयन गर्नसक्छन् नकि कुनै अदालत वा कुनै अभियान्ताजस्ता न्यायाधीशहरूले…’ ह्वाइट हाउसले पुनरावेदन अदालतमा दिएको निवेदनमा भनेको थियो। 

दोस्रो कार्यकाल सम्हालेलगत्तै ट्रम्पले चीन, क्यानडा तथा मेक्सिकोलगायत केही प्रमुख निर्यातकर्ता देशहरूका सामग्रीमाथि चर्को भन्सार शुल्क लगाउन आदेश जारी गरेका थिए। उनी चीनप्रति निकै आक्रामक भएका थिए। तर केही समयअघिमात्रै दुई देशका प्रतिनिधिबीच भएको वार्तामा दुबै पक्ष हालका लागि भन्सार शुल्क कटौती गर्न सहमत भएका थिए। 
ट्रम्पको कर नीतिका कारण एकप्रकारले विश्व ब्यापार चक्र नै बिथोलिएको थियो। 
 

प्रकाशित मिति: : 2025-05-30 09:57:00

प्रतिकृया दिनुहोस्