जहाँ धेरै सस्तोमा पाइन्छ 'सेकेन्ड लाइफ' लुगा र सरसामान, विदेशीहरू पनि भइसके ग्राहक

सेतोपाटी

सुनिता सिटौला

दसैं नजिकिँदै छ। लुगाफाटा, जुत्ता, भाँडाकुँडादेखि घरायसी सामान किन्ने मन धेरैलाई होला। तर यी सबै कुरा नयाँ किन्न कतिको घर-बजेटले नधान्ला।

यस्तै समस्यामा परेकाका लागि उपयुक्त विकल्प बनेको छ 'सुखावती'।

सुखावती प्रतिष्ठानले विगत आठ वर्षदेखि सेकेन्ड ह्यान्ड लुगाफाटा, जुत्ता, भाँडाकुँडा, घरायसी सामान लगायत बेच्दै आएको छ। एकपटक प्रयोग भइसकेका सामान सुखावतीले धोइपखाली, मर्मतसम्भार गरी चिटिक्क पारेर बेच्छ। र, यी सामानको मूल्य बजारभाउ भन्दा निकै कम हुन्छ। 

कति कम भन्नुहोला?

लुगाफाटा किन्न हो भने दस रूपैयाँदेखि नै पाइन्छ। जुत्ता र भाँडाकुँडाको भने अवस्थाअनुसार तोकिएको छ। बच्चादेखि पाका उमेरसम्मकालाई हुने लुगाफाटा यहाँ पाइन्छ।

सुखावतीका सञ्चालक चिजमान गुरूङ यसलाई 'सेकेन्ड लाइफ' सामान पाइने पसल भनेर चिनाउँछन्।

सुरूमा आर्थिक क्षमता धेरै कमजोर भएका वर्गको मात्र रोजाइमा पर्ने सुखावतीका ग्राहक अहिले फेरिइसकेका छन्। चिजमानका अनुसार अहिले सामान किन्न विदेशीहरू समेत आउँछन्।

'धेरै मानिसको सोच बदलिएको छ,' उनले भने, 'आफूलाई नचाहिने सामान दिन्छन्, चाहिने सामान लैजान्छन्।'

प्रकाशित मिति: : 2023-10-08 17:44:00

प्रतिकृया दिनुहोस्