मोदी अनुमति नलिई नेपाली भूमिमा छिर्नु भारतीय हस्तक्षेप हो: नेता सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सरकारलाई जानकारी नै नदिई नेपाली भूमि गुन्जीमा भ्रमण गर्नु हस्तक्षेप भएकाे बताएका छन्। पार्टी कामकाे सिलसिलामा जुम्ला पुगेका उनले भारतीय प्रधानमन्त्रीले नेपाली भूमि कुल्चेकाे विषयलाई लिएर हस्तक्षेप गरेकाे बताएका हुन्।

‘भारतीय प्रधानमन्त्री माेदीलाई नेपालले स्वाग गर्नुपर्नेमा गरेन,’ उनले भने, ‘यसकाे मतलब नेपालले आफ्नाे भूमि हाे भनेर दाबी छाेडेकाे हाे भन्ने अर्थ लाग्छ।’

उनकाअनुसार भारतले नेपाली भूमि सुस्तामा अतिक्रम गरेकाे उहिल्यै हाे। भारतले नेपालकाे ७१ ठाउँमा सीमा मिचेकाे छ। माेदीले नेपाली भूमि गुञ्जीमा सडक विस्तार गर्ने भनी सुनाएकाे याेजनाप्रति नेमकिपा र नेपाली जनताकाे विराेध छ।

कालपानीमा ७० वर्षदेखि भारतीय हस्तक्षेप कायम छ। कालापानीमा राखिएकाे भारतीय सेनालाई हटाइएकाे छैन। त्यही बीचमा माेदीले गुञ्जी भ्रमण गर्नु र नेपालले एक शब्द नबाेल्नु हस्तक्षेप टुलुटुलु हेरेर बस्नु भएकाे नेता सुवालले बताए।

उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले द्वन्द्वकाे बेला भारतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्डलाई भेटेकाे प्रशंग सुनाउँदै भने, ‘त्यसबेला हाम्राे अध्यक्षले प्रचण्डलाई तपाईंले भारतीय शासक दलकाे कुरा सुन्नुभयाे भने देश रहेने छैन। सुन्नुभएन भने तपाईंकाे ज्यान रहने छैन भनेर भन्नुभएको थियाे। आज प्रचण्डले भारतीय साशक दलकाे कुरा सुनेर देश डुबाउँदै हुनुहुन्छ।’

उनले माओवादी भारत अनुकुलकाे सकार हुनुले भारतीय हस्तक्षेप थप बढेकाे प्रसंग जाेढ्दै भने, ‘एसडी मुनीले भनेजस्तै माओवादी पनि एमाले र काँग्रेजजस्तै भारतकाे निकट हुन चाहन्छ।’

राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालमा नेमकिपाकाे धारणा राख्ने क्रममा नेता सुवालले इजरायल र प्यालेस्टाइनकाे युद्धलाई लिएर अमेरिकाकाे आलोचना गरे। ‘यी दुई देशलाई अमेरिकाले लडाइँरहेकाे छ,’ उनले भने, ‘नेपाल सरकार अमेरिकाले जे भन्याे त्यही गरिरहेकाे छ। प्यालेस्टाइन आफ्नाे भूमि फिर्ताका लागि संघर्ष गरिरहेकाे छ। नेपाल सरकार हमासलाई आतंककारी घाेषणा गरिरहेकाे छ।’

उनले हमास आफ्नाे देशका निम्ति लडिरहेका प्यालेस्टाइनीहरुकाे संगठन भएकाे भन्दै त्यसलाई आतंककारी घाेषणा गर्नु राजनीतिक बेइमानी भएकाे बताए।

‘युद्धग्रस्त क्षेत्रमा लर्न एण्ड अर्न भनेर विदेश पठाउने सरकारकाे नीति नै गलत छ,’ उनले थपे, ‘कृषि पढेका मान्छेलाई आफ्नै देशमा अनुसन्धान गराउएर उत्पादन बढाइ आत्मनिर्भर गराउनुकाे साटाे युद्ध भइरहेकाे क्षेत्रमा पठाउनुले सरकारकाे देश विकास गर्ने चाहना नभएकाे पुष्टि हुन्छ।’

उनले अमेरिकाबाट ठूला पार्टीका मुख्य नेतालाई धम्की आएपछि एमसीसी पारित भएकाे रहस्य खुलाए। उनले प्रश्न गरे, ‘युक्रेन मामलामा रुसकाे विरुद्ध मत हाल्न भनेर नेपाललाई अमेरिकाले धम्की दिएकाे थियाे। आफ्नाे विवेक नै प्रयाेग नगर्ने नेताहरु कसरी देशभक्त हुन सक्छन्?’

हाल देशकाे सार्वजनिक ऋण २२ खर्ब पुगेकाे प्रसंग निकाल्दै उनले भने, ‘यति धेरै खर्च हुँदा पनि विकास नभएकाे नेपाललाई एमसीसीकाे १० अर्बले कसरी विकास गराउँछ? याे नेपालका नदी कब्जा गर्ने र उत्पादित बिजुली भारत लैजाने रणनीति हाे।’

नेता सुवालकाअनुसार एक देशले अर्काे देशसँग सम्झाैता गर्दा देशकाे कानुन निष्क्रिय हुने सम्झाैता देश हितमा हुँदैन। उनले थपे, ‘एमसीसी देशकाे कानुनभन्दा माथि हुने र त्यसैलाई अक्षरस पालना गर्ने नेताहरु कसरी देशप्रेमी हुन सक्छन्?’

चीनले सार्वजनिक गरेकाे नक्सामा नेपालकाे चुच्चे नक्सा नसेमेटिनुमा चीनकाे नभइ सरकारकाे दाेष रहेकाे सांसद सुवालकाे भनाइ छ। ‘सरकारले चुच्चे नक्सा नेपालमा घाेषणा गर्‍याे। तर, त्याे दराजकाे कुनामा लगेर थन्क्यायाे। त्यसकाे जानकारी अन्तर्राष्ट्रिय समुदायलाई दिनु पर्थ्याे। दिइएन।’

उनकाअनुसार नेपालका प्रधानमन्त्री र मन्त्रीहरु अहिले पनि भारतसँग डराउँछन्। प्रचण्ड भारत जाँदा फुकाेट कर्णाली बेचे। परराष्ट्र मन्त्रीले भारतले नेपाली भूमि लुम्बिनी र कपिलवस्तु मिचेर नक्सा सार्वजनिक गरेकाे कुरा थाहा पाइन भन्नुकाे साटाे विराेध छ नभन्नु नै डराउनु हाे।

आज देशका अधिकांश भूगोलमा बिजुली पुगेकाे छैन। तर, साशक दलका नेताहरु बिजुली निकाल्याे भने कसले किन्छ? भनेर गर्ने प्रश्न गर्छन्। याे निहुँमात्रै भएकाे उनकाे भनाइ छ। उनले भने, ‘तर यहाँ नियत अर्कै छ। त्याे भनेकाे नदीनाला भारतलाई सुम्पिने हाे।’

उनले दई अर्ब बजेट भए कर्णालीमा जति पनि बिजुली उत्पादन गर्न सकिने बताए। ‘तर, दुई खर्ब त नेताहरु भ्रष्टाचार गरेर खान्छन्,’ उनले भने, ‘भारतसँग गरेकाे नदी सम्झाैता खारेज गरिएन भने देश रहँदैन।’

साशक दलकै कारण कर्णाली राजमार्ग मृत्युमार्ग भई कर्णालीकाे उत्पादन विश्वबजारमा पुग्न नसकेकाे उनले बताए। उनले भने, ‘२७५ जना सांसदमा एक सय ११ जनाकाे काठमाडौंमा घर छ। यस्ताे अवस्थामा गाउँ कसरी विकास हुन्छ?’

जन्मकाे आधारमा नागरिकता दिने विषयमा नेमकिपा एक्लाे भएकाे प्रसंग निकाल्दै संविधान निर्माणकाे बेला पनि नेमकिपा एक्लिएकाे उनले स्मरण गरे। ‘पूर्वगृहमन्त्री बालकृष्ण खाँडले ०६३ यता सरकारमा जाने कसैलाई पनि नागरिकता विधेयककाे विराेध गर्ने अधिकार छैन भने,’ उनले भने, ‘नेमकिपाले शिक्षा, स्वास्थ्य नि:शुल्क हुनुपर्छ भन्दा शासक दल हाम्राेविरुद्धमा लागे। फरक यही हाे साशक दल र नेमकिपाकामा।’

पछिल्लो समय सुन्दर जुम्ला विकास गर्ने नाममा दृष्टिकोण नपुगेकाे अवस्थामा कुरुप बन्दै जाने उनकाे चिन्ता छ। ‘जुम्लाका तीन वटा नदी तिला, जवा र जुगाड प्रदुषित हुन दिनु हुँदैन,’ उनले भने, ‘नदीका दुवै किनारमा सडक बनाएर फाेहाेर ढलकाे छुट्टै व्यवस्था गरी उपचार पाेखरी नबनाए जुम्लाको भविष्य हुँदैन।’

त्यस्तै गुठीचाैरमा खाेलिएकाे भेडाबाख्रा फर्मलाई सरकारले व्यवस्थित बनाउन नसकेकाे आराेप लगाए। ‘लाखाैँ भेडा उत्पादन गर्न सकिने ठाउँमा तीन सय भेडा राख्नु लाजमर्दो विषय हाे,’ उनले भने, ‘वर्षकाे दश लाख आम्दानी ठाउँमा महिनाकाे पच्चीस लाख खर्च हुने भेडा फर्मकाे काम छैन।’

देशमा भ्रष्टाचार बढेकाे भन्दै यसलाई नियन्त्रण गर्न मृत्युदण्ड दिनुपर्ने उनकाे भनाइ छ। ‘नत्र सामाजिक सद्भाव रहँदैन,’ उनले भने।

चाडबाडकाे बेला महंगी, मिसावट, कालाबजारी बढिरहेका छ। हवाई टिकटमा बिचाैलीया हाबी छन्। तर, सरकार यसलाई नियन्त्रण गर्नतिर ध्यान नदिएकाेमा नेमकिपाकाे ध्यानाकर्षण भएकाे उनले बताए।

प्रकाशित मिति: : 2023-10-15 07:19:00

प्रतिकृया दिनुहोस्