वीरगञ्जमा नयाँ स्वास्थ्य प्रयोगशाला सञ्चालनमा

file photo
file photo

वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ। वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरुलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो।     

मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको छ। प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक प्रदीप यादवले उद्घाटन गरे।

त्यस अवसरमा पूर्वमन्त्री यादवले महानगरपालिकाले सञ्चालन गरेको प्रयोगशालाले गरिब नागरिकलाई विशेष सेवा प्रवाह गर्न आग्रह गरे। उन्ले वीरगञ्जको नारायणी अस्पतालभन्दा कम शुल्कमा बिरामीको ५४ प्रकारका प्रयोशाला परीक्षण गर्ने जानकारी दिँदै उनले यसले वीरगञ्जवासी मात्र नभई छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे। 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवाको निरन्तर अनुगमन गर्न सेवाग्राहीलाई अपिल गरे। उनले महानगरपालिकाले वीरगञ्जवासीमात्र नभई छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट उपचार गराउन वीरगञ्ज आउने बिरामीलाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने सम्पूर्ण तयारी गरिसकेको बताए। 

वीरगञ्जको आदर्शनगरस्थित हजारी मल धर्मशाला क्षेत्रमा छठ पर्वपछि पूर्वाधार निर्माण गरी सहुलियत दरमा औषधी उपलब्ध गराउनका साथै स्त्रीरोग उपचार सेवा प्रदान गर्ने प्रमुख सिंहले जानकारी दिए।

महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोशालाबाट प्रवाह हुने सेवा प्रचलित बजार मूल्यभन्दा ७५ प्रतिशत सस्तो रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। उनले प्रयोगशालामा ज्येष्ठ नागरिक, मिर्गौला पीडित, क्यान्सर पीडित, एचआइभी÷सङ्क्रमित, सहिद परिवार र मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारलाई सबैखाले परीक्षणमा ९० प्रतिशत छुट र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताए। 
 

प्रकाशित मिति: : 2023-10-15 19:32:00

प्रतिकृया दिनुहोस्