मनास्लु पदमार्गमा भरिए पर्यटक, कसरी पुग्न सकिन्छ?

तस्बिरः सञ्जिब गुरुङ

यसवर्षको शरद ऋतुको आगमनसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्ने मनास्लु पदमार्गमा पर्यटकको घुँइचो लागेको छ। दसैंअघि दैनिक मनास्लुमा सयजनाको हाराहारीमा पर्यटक भित्रिएको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्।

अक्टोवरको दोस्रो सातादेखि चुमनुब्री गाउँपालिकाको नाम्रुङ गाउँका होटलहरू पर्यटकले खचाखच भरिँदैछन्। नाम्रुङस्थित नुब्री फोर सिजन रिसोर्टका सञ्चालक लाक्पा ढुण्डुप लामा, पत्नी माया गुरुङ र कर्माचारीलाई भ्याइनभ्याइ छ। त्यस्तै, छेउतिरकाे थकाली होटलसहित आधा दर्जन होटलमा पनि पर्यटकहरू अटाइनसक्नु छन्।

पर्यटकहरूकाे सुरक्षा र अभिलेखका लागि तैनाथ प्रहरीहरू हिजाेआज चिया पिउने फुर्सदसमेत पाउँदैनन्। नाम्रुङ इलाका प्रहरी कार्यालयमा साँझ ६ बजेसम्म पनि पर्यटकहरूकाे लाम छ। प्रहरी ईन्चार्ज निशान्त मगरले ८४ जना पर्यटकको नाम दर्ता गरिसकेको बताउँछन्। र, ‘सिजनकै धेरै’ अर्थात् पर्यटककाे संख्या सय नाघ्ने र यसवर्ष रेकर्ड तोडिनसक्ने सम्भावना रहेको ईन्चार्ज मगरले बताएका छन्।

मनास्लु क्षेत्रकै लक्जरी ‘नुब्री फोर सिजन रिसोर्ट’ सञ्चालक लाक्पा दाइ पर्यटकको आगमनले निकै खुसी देखिन्थे। ‘काठमाडाैंबाट ३-४ दिन र चुम उपत्यका घुमेर हप्ता दिनमा हिँड्डुल गर्ने विदेशी पर्यटकहरू यहाँ आइपुग्दा थाकेका हुन्छन्,’ लाक्पा
भन्छन्, ‘एकरात भएपनि उनीहरू आरामले बास बस्न पाउँदा हर्षित हुन्छन्।’

थोरै महंगो भएपनि नुब्री फोर सिजन रिसोर्ट मनास्लु भेगकाे सबैभन्दा सेवा–सुविधा सम्पन्न होटल हो। गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु पदमार्ग नेपालको प्रमुख ट्रेकिङ मार्गमा पर्छ, जो मनास्लु पर्वतको फेदीको यात्रा तय गर्दै लार्के पास (५१०० मि.) भएर मनाङ पुगी टुङ्गिन्छ।

याे पदमार्गमा मनास्लु पर्वत क्षेत्रको परिक्रमा गर्न सकिन्छ र हिमाली जनजीवन, गाउँवस्ती, विभिन्न प्राकृतिक सौन्दर्य र हिमालको दृश्यको आनन्द लिँदै एक सातादेखि दुई साताभित्र पदयात्रा गर्न सकिन्छ।

मनास्लु पदमार्गमा बुढीगण्डकीको तीरैतीर पछ्याउँदै चुम र नुब्रीको सुन्दर हिमाली गाउँवस्ती छिचोलेर पद यात्रामा रमाउन सकिन्छ। पदमार्गमा अनेकाैँ हिमाली गाउँ, बाैद्ध धार्मिक स्थल र हिमालकाे चिसाे सिरेटाेकाे रमाइलाे अनुभव गर्न सकिन्छ।

विश्वको ८ हजार मिटरभन्दा अग्लो आठौं मनास्लु हिमाल पनि यसैक्षेत्रमा पर्दछ। मनास्लु पर्वत क्षेत्र प्राकृतिक सौन्दर्य, वन्यजन्तु, र हिमालय ट्रेकिङ क्षेत्रको रूपमा प्रसिद्ध छ।

मनास्लु पदमार्ग यात्रा गर्दा अनिवार्य केही महत्त्वपूर्ण नियमहरू पालना गर्नुपर्ने हुन्छ। जस्तो कि विदेशी पर्यटकले मनास्लु क्षेत्रको विशेष अनुमतिसहित मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षक क्षेत्रकाे प्रवेश शुल्क पनि तिर्नुपर्छ।

पछिल्लो समय अन्य पदमार्गहरूमा सवारी साधन पुगेर पदयात्राका दिनहरू छोटिँदै गईरहेको बेला मनास्लु क्षेत्र अझै यातायात नपुगेकोले पनि पर्यटकहरूको रोजाइमा परेको छ।

मनास्लु संरक्षण क्षेत्र परियोजनाका कार्यलय प्रमुख भुवनराज ओझाका अनुसार असोज महिनामा मात्रै करिब २ हजार २७६ पर्यटकमध्ये सार्क क्षेत्रबाट ६५ र अन्य तेस्रो मुलुकबाट २ हजार २११ जना पदयात्रीले भ्रमण गरिसकेका छन्। यसवर्षकाे १० महिनाभित्र ६ हजार पर्यटक मनास्लु क्षेत्र पदयात्रा गरिसकेका छन्।

गतवर्ष सन् २०२२ मा ६ हजार १०२ जना पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए। ‘अझै नोभेम्बर र दिसेम्बर २ महिना बाँकी रहेकाले वर्षको अन्त्यसम्म अघिल्लो वर्षको रेकर्ड तोडिने सम्भावना छ,’ परियोजनाका प्रमुख ओझाले भने। हालको पर्यटन आगमन दर हेर्दा कोभिडपछि पर्यटन लयमा फर्किएको महसुस भएको उनले बताएका छन्।

प्राचीन गाउँ र गुम्बा, हिमाली संस्कृतिसहित अनगिन्ती झरना, अग्ला पहाड र हिमाली दृश्यले मनास्लु पदमार्गले विश्वभरका पर्यटकलाई लोभ्याएको छ। संसारभरका पदयात्रीहरूलाई अनुभवका लागि एक उत्कृष्ट गन्तब्यको रुपमा चिनिएको छ।


मनास्लु संरक्षण क्षेत्रमा लार्के (५२०५ मिटर) र ग्या (५३७५ मिटर) जस्ता उच्च पास (ला) हरूका साथै काल ताल र वीरेन्द्र तालजस्ता कैयाैँ ताल–तलैयाहरू छन्।

मनास्लु क्षेत्र विशिष्ट सांस्कृतिक, ऐतिहासिक र प्राचीन गुम्बाहरू साथै जडिबुटी र जैविक विविधताले भरिपूर्ण छ। बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ–मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भू-परिवेशले गर्दा यसक्षेत्र पर्यटक आकर्षणको केन्द्रसमेत बनेको छ।

कसरी पुग्ने मनास्लु क्षेत्रः

काठमाडौंबाट सल्यानटार, आरुघाट हुँदै सोटीखोलासम्म गाडीमा जाने। हिउँदमा जगतसम्म गाडी पुग्छ। माछाखोला, जगत, एक्लेभट्टी, चिसापानी, ड्याङ, नाम्रुङ, ल्हो हुँदै सामागाँउ पदयात्रा गर्ने।


विदेशी पर्यटक सामागाँउमा २ देखि ३ दिनसम्म एक्लिमिटाईजको लागि बास बस्छन्। त्यसपछि धर्मशाला हुँदै लार्के पास (५१६०) पार गर्दै, मनाङको भिमथाङ, तिल्जे हुँदै धारापानी निस्किन्छ। धारापानीदेखि बेसीसहर हुँदै काठमाडौं गाडीमा आउन सकिन्छ।

मनास्लु क्षेत्रको चुम उपत्यका जाने पर्यटक चिसापानी अगाडी न्याकफेदी पुग्न अगाडी बुढीगण्डकी खोला देब्रे च्यापेर चुम्लिङ, छेकाम्पार, मुगुम्बा पुगेर फर्केर नुब्री उपत्यका हुँदै लार्के पास गरिन्छ। कति पर्यटकहरू मनाङको धारापानी हुँदै मनाङतिर तिलिचो ताल र थोरोङला पास हुँदै मुक्तिनाथ (मुस्ताङ) तिर पदयात्रामा पनि निस्किन्छन्।

तस्बिरहरू— सुरेन्द्र राना

प्रकाशित मिति: : 2023-10-28 17:47:00

प्रतिकृया दिनुहोस्