जुम्लामा एक वर्षमा २९ नवजात शिशुको मृत्यु

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १९ वर्षीया आइसा उपाध्यायले आठ महिनामै बच्चा जन्माइन्। हाँडसिँजा स्वास्थ्य चौकीको प्रसूतिगृहमा उनले नवजात शिशुलाई जन्म दिएकी थिइन्।

स्वास्थ्य चौकीकी अनमी प्रिया आचार्यका अनुसार जन्मिँदै बच्चा कमजोर थियो। सानै उमेरमा बच्चा जन्मिएको र गर्भावस्थामा आमालाई पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै कमजोर बच्चा जन्मिएको प्रिया बताउँछिन्।

बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो। स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार उपचारकै क्रममा अस्पतालमा बच्चाको मृत्यु भयो।

सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७ वर्षीया संगीता रोकाया र १८ वर्षीय जंगे रोकायाले जन्माएको नवजात शिशुको गत वर्ष जेठ महिनामा मृत्यु भयो। नौ महिना नपुग्दै सात महिनामा शनीगाउँ स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा शिशु जन्मिएको थियो।

संगीताले ग्रामीण भेगको बर्थिङ सेन्टरमा बच्चा जन्माइन्। बच्चाले दूध चुस्न नसकेपछि तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको स्वास्थ्य चौकीका इन्चार्ज रमेश रावलले बताए।

महिना नपुग्दै बच्चा जन्मेकाले एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि सुविधासम्पन्न अस्पताल रिफर गरेकाे थियाे।

‘प्रजनन् क्षमता परिपक्व नभएका आमाबाट महिना नपुग्दै बच्चा जन्मियो,’ शनीगाउँ स्वास्थ्य चौकीकी अनमी पुनम रोकायाले भनिन्, ‘सानो पाठेघर भएकाले महिना नपुग्दै कमजोर बच्चा जन्मियो। जन्मिएको बच्चाले दूध चुस्न नसकेपछि रेफर गरे पनि अभिभावकले भोलि सदरमुकाम खलंगाको अस्पतालमा लैजाने भन्दै घर लिएर गए।’

उनका अनुसार सदरमुकाम खलंगाको अस्पतालमा लैजान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्सको पनि व्यवस्थापन गरेको थियो। तर, अभिभावकले भोलि लैजाउँला भन्दै घरमै लगे। जन्मेको २४ घन्टामै बच्चाको मृत्यु भयो।

तिला गाउँपालिका– ८ जुम्लाकोटकी २२ वर्षीया आइसरा रावतले जुम्लाकोट प्रसूतिगृहमा १४ माघ ०७९ राति बच्चा जन्माइन्। जन्मेको ११ घन्टापछि घरमै बच्चाको मृत्यु भयो।

‘बच्चा नर्मल नै जन्मेको हो,’ स्थानीय स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीले भने, ‘बच्चा जन्मेपछि टाउकोमा फोका निस्केको, नाकबाट रगत बगेको, छिटोछिटो श्वास फेर्ने र दूध चुस्न सकिरहेको थिएन।’

त्यसपछि बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरियो। तर, अभिभावकले शिशुलाई अस्पताल नलगेपछि बच्चाको घरमै मृत्यु भएको इन्चार्ज जिसीले बताए।

‘त्यतिबेला हिउँद महिनामा हिउँ परिरहेको थियो,’ जिसीले भने, ‘धेरै टाढा दुर्गमबाट अस्पताल जान अनुकूल वातावरण पनि थिएन। अभिभावकले बच्चालाई अस्पताल लैजान सकेनन् र घरमै मृत्यु भयो।’

यी केही प्रतिनिधिमूलक घटनाले समग्र जुम्लामा भएकाे नवजात शिशु मृत्यदरको चित्र देखाएको छ। प्रजनन् क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा सुविधासम्पन्न प्रसूतिगृह नहुनु, अशिक्षित र अटेरी अभिभावकका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको तथ्यांकहरूले देखाउँछ।

आर्थिक वर्ष ०७९/८० मा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ। जन्मेदेखि सात दिनभित्र २३ जना र जन्मेको आठदेखि २८ दिनभित्र पाँचजना नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा छ।

यस्तै जन्मेको सात दिनभित्र एक जना नवजात शिशुको स्वास्थ्य संस्थाबाहिर घरमा मृत्यु भएको तथ्यांक रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार ०७९/८० को तथ्यांकअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो।

‘सबैभन्दा बढी बालबालिकाको मृत्यु एक महिनाभित्र नै भइसक्छ। त्यसभित्र पनि ४८ घन्टाभित्र झन्डै ८५ प्रतिशतको हाराहारीमा मृत्यु हुने देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ। नवजात शिशुको कुल मृत्युको ३१ प्रतिशत मृत्यु श्वासप्रश्वास र मुटुसम्बन्धीको रोगबाट हुन्छ।

त्यसैगरी गर्भ तथा प्रसूतिको जोखिमका कारण ३५ प्रतिशत र बाँकी संक्रमण, जन्मजात समस्या, अकस्मात् मृत्यु, शीतांग हुनुलगायत कारणले मृत्यु हुने गरेको पाइएको छ।

नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगहरूमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत रोग हुन्। दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारको नीति छ।

सोही अनुरूप सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौँदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। तैपनि, नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन।

उच्च देखिएको नवजात शिशुको मृत्युदरले सरकारी लक्ष्यमा चुनौती देखिएको छ। एक वर्षमा मात्रै २९ जना नवजात शिशुको मृत्यु हुँदा मृत्युदर घटाउन मातृ शिशु स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति: : 2023-11-16 18:30:00

प्रतिकृया दिनुहोस्