मोरङको उर्लाबारी शोकमा डुबेको छ। गत कात्तिक २६ गते उर्लाबारी– ७ को स्नेहा सुनचाँदी पसलमा मध्यरातमा भएको आगलागी नियन्त्रण प्रयासमा पुगेका स्थानीयहरूको एकपछि अर्कोको ज्यान गएपछि उर्लाबारी शोकमा डुबेको हो।
आगलागी नियन्त्रण प्रयासमा घाइते भएका चार प्रहरीसहित २८ मध्ये चार जनाको मृत्यु भइसकेको छ। उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान ५ बजे काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। कार्कीको शरीरको ४० प्रतिशत भाग जलेको थियो।
घरधनी कार्कीको मृत्युसँगै आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। गत मंलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो। उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो।
त्यस्तै उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो। उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो।
अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो। तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।