'हरिबोधनी एकादशी' मेलालाई उत्कृष्ट बनाउँदै बूढानीलकण्ठ

बूढानीलकण्ठ नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आइरहेको हरिबोधनी एकादशी मेला यसपटक पनि भव्य र व्यवस्थित तवरले गरिरहेको छ।

 मेलामा काठमाडौं उपत्यका बाहेक देशका विभिन्न भु-भागबाट दर्शनार्थीको दैनिक घुइँचो लागिरहेको छ। यसपटकको एकादशी मेला गत कार्तिक ७ गतेदेखि सुरु भएको हो। 

मेलाको आज शनिबार तेस्रो दिन मन्दिर परिसरमा अत्यन्त भीड लाग्नुका साथै नगरपालिकाले अन्य स्थानीय सरकारी निकायका साथै अन्य गन्यमान्य व्यक्तित्वहरुलाई पनि आमन्त्रण गरेको थियो।

बूनपाले उक्त मेलामा आमन्त्रित गरेका पाहुनाहरु मध्ये नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उनका श्रीमती, नागार्जुन नगरपालिकाका उपमेयर सुशिला कार्की, महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले, ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिजाल तथा उपमेयर सान्नानी लामा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन, साँखु नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, बाग्मती प्रदेश सभा सभासद मिना पराजुली लागायतका व्यक्तित्वहरुले मन्दिर परिसरमा आयोजना गरेको मेला अवलोकनका साथै मन्दिर दर्शन गरेका थिए।

उक्त अवसरमा ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस्ता धार्मिक, साँस्कृतिक र एकताभावका साथ आयोजना गरेको कार्यक्रमले बुढानिलकण्ठ नगरपालिकाको छुट्टै पहिचान बनेको बताएका थिए। 

त्यस्तै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बूनपाले आयोजना गरेको यस्तो सांस्कृतिक र धार्मिक मेलाले बूनपालाई अझ धेरै उचाईमा पुर्‍याएको बताउँदै मेलाको व्यवस्थापन अत्यन्त उत्कृष्ट रहेको पनि बताएका थिए।

मेला आयोजनाको तेस्रो दिनसम्म हजारौं भक्तजनहरुले अवलोकन गरिसकेको बताउँदै बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले यस्ता मेला, पर्व तथा धार्मिक कार्यक्रमहरुको आयोजनाले यस नगरपालिका आफैंमा पनि एक धार्मिक, साँस्कृतिक, वातावरणीय र पुरातात्त्विक हिसाबले पनि सम्पन्न रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता सांस्कृतिक सम्पदा र धार्मिक धरोहरको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा बूढानीलकण्ठ नगरपालिका सधैं अग्रसर रहने बताएका थिए। गत कार्तिक ७ गतेदेखि सुरु भएको उक्त एकादशी मेला कार्तिक ११ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: : 2023-11-25 19:09:00

प्रतिकृया दिनुहोस्